धनगढी- कैलालीको कैलारी गाउँपालिकामा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कैलारी गाउँपालिकाको पवेरा स्वास्थ्य चौकीमा शुक्रवार सञ्जीवनी डेन्टल केयरको आयोजना र लायन्स लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोजको संयोजनमा निःशुल्क दन्त शिविर सम्पन्न भएको हो ।
उक्त शिविरमा १५० जना बिरामीको निःशुल्क सेवा लिएको दन्त रोग विशेषज्ञ चिकित्सक डा.अमृतराज जैशीले बताए । शिविरमा दाँत, मुख जिगा सम्बन्धी समस्याको चेकजाँच हुनुका साथै निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
दाँत तथा मुख स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने र अत्यावश्यक उपचारहरू क्याम्पमै निःशुल्क रूपमा गर्ने उद्देश्यका साथ धनगढी सञ्जीवनी डेन्टल केयरले आयोजना गरेको दन्त शिविरबाट दुई सय जना भन्दा बढी लाभान्वित भएको डा.जैशीले जानकारी दिए ।
शिविरमा दन्त रोग विशेषज्ञ चिकित्सक डा.अमृत राज जैसी र डा.अनिल यादवले चेक जाँच गरेका थिए । शिविरमा आएका सबै बिरामीहरूको मुख तथा गिजाको चेकजाँच गर्नुका साथै निःशुल्क रूपमा औषधी वितरण र ३० जनालाई दाँत निकाल्ने अनि आवश्यकता अनुसार कसैलाई थप उपचारको निम्ति उपयुक्त स्थानमा रिफर गर्ने कार्य गरिएको डा.जैशीले बताए ।













