गुलरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क आँखा शिविर सञ्चालनमा ल्याएको छ । कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा आइतबारदेखि वडा न.१ को कुमगडाबाट नगर उपप्रमुख द्रोपती रानाले निःशुल्क आँखा शिविरको उद्घाटन गरेकी हुन ।
भौगोलिक हिसाबले नगरको सबैभन्दा विकटमा रहेको कुमगडा,गोजे क्षेत्रबाट आँखा शिविरको सुरुवात गर्न पाउँदा अत्यन्तै खुशी लागेको उपप्रमुख रानाले बताइन । नगरप्रमुख रानाले यहाँका जनताको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले घरआगनसम्मै शिविर सञ्चालनमा ल्याएको भन्दै सबै नागरिकहरूले सेवा लिनुपर्ने बताइन ।
त्यस्तै वडा न.१ का अध्यक्ष मोहन बहादुर बस्नेतले वडाका थप दुई ठाउँमा आँखा शिविर सञ्चालन हुने भएपनि नगरप्रमुख हेमराज ओझा ज्यूले कुमगडा,गोजे क्षेत्रका नागरिकलाई निगाली र दोमिल्लामा आउन जान गाहृो पर्ने भएकोले कुमगडा,गोजे मै सेवा दिन आग्रह गर्नुभएको थियो त्यसैले यतैबाट सेवा दिएको बताए ।
वडाध्यक्ष बस्नेतले विकासका दृष्ट्रिकोणले पछि परेको कुमगडा,गोजे क्षेत्रको समग्र विकास कसरी गर्न सकिन्छ भनेर सबै जना चिन्तित रहेको भन्दै बिस्तारै विकास निर्माणका गतिविधि समेत अगाडी बढ्ने उनले बताए । आँखा शिविरमा प्राविधिक सहयोग गरिरहेको संस्था धनगढी नेत्रालयका डा।आशिष पाण्डेयले नगरपालिकासँग जोडिएर दुरदराजका नागरिकको सेवा गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले धनगढी नेत्रालयले कुनै रकम नलिएर कृष्णपुर नगरपालिकामा १७ दिनसम्म सेवा गर्ने बताए ।
आँखा शिविरमा सेवा लिन आएकी स्थानीय प्रमिला जेठाराले कुमगडा,गोजे क्षेत्रमा आजसम्म यस्ता खाले शिविर कहिल्यै नआएको भन्दै सेवा लिन पाउँदा अत्यन्तै खुशी लागेको बताइन । त्यस्तै स्थानीय दिल बहादुर खत्रीले आफूहरूका लागि पनि स्थानीय सरकार भएको अनुभूति भएको भन्दै जनप्रतिधरिलाई धन्यवाद दिए ।
आँखा शिविरको पहिलो दिन वडा न.१ को कुमगडा,गोजे क्षेत्रका १६८ जनाले सेवा लिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्टले जानकारी दिए । शिविरमा निःशुल्क आँखा जाँच,आवश्यक पर्नेलाई निःशुल्क चस्मा वितरण र अप्रेसन गर्नुपर्ने बिरामीलाई आनै सवारी साधनमा राखेर निःशुल्क अप्रेसन गरिने धनगढी नेत्रालयका डा.आशिष पाण्डेयले बताए ।
आजबाट सुरु भएको निःशुल्क आँखा शिविर नगरका ९ वटै वडाका १२ वडा स्वास्थ्य संस्थामा गरी पौष १७ गतेसम्म सञ्चालन गरिनेछ ।
कृष्णपुर नगरपालिका वडा न। १ का अध्यक्ष मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर उपप्रमुख द्रोपती राना प्रमुख अतिथि रहेका थिइन ।
त्यस्तै कार्यपालिका सदस्य मदन नेपाली,दिल बहादुर टमाटा,रत्ना कुमारी बोहरा,धनगढी नेत्रालयको नेत्र विशेषज्ञ टोली, कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन बहादुर बिस्ट लगायतको उपस्थिति रहेको थियो ।
















