धनगढी- स्वास्थ्य सेवामा सवैभन्दा पछि परेको प्रदेश सुदूरपश्चिम देखिएको छ। स्वास्थ्य मन्त्रालयको जारी गरेको वार्षिक समिक्षामा प्रस्तुत ‘नेपाल हेल्थ फ्याक्ट सीट २०२३’ले उक्त अवस्था देखाएको हो।
अन्य ६ प्रदेशमा कम्तिमा एउटा मेडिकल कलेज सञ्चालनमा छन्। कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालित छ। तर, सुदूरपश्चिममा अहिलेसम्म कुनै सरकारी तथा मेडिकल कलेज सञ्चालनमा आउन सकेको छैन।
१०० बेड भन्दा माथिका अस्पतालमा पनि सुदूरपश्चिम पुछारमा छ। बागमतीमा सबैभन्दा धेरै २६ अस्पताल रहेकोमा सुदूरपश्चिममा जम्मा २ वटा छन्। कर्णालीमा समेत तीनवटा ठूला अस्पताल सञ्चालित छन्। लुम्बिनी प्रदेशमा ६, गण्डकीमा ३, मधेशमा ३ र कोशी प्रदेशमा ३ वटा मेडिकल कलेज छन्।
सार्वजनिक अस्पताल सुदूरपश्चिममा जम्मा १८ वटा रहेका छन्। जबकी कर्णालीमा २८ र बागमतीमा ५४ रहेको तथ्यांकमा देखिएको छ।
यसैगरी १०० देखि ३०० बेडका जनरल अस्पताल पनि सुदूरपश्चिममा जम्मा २ छन् । जबकी कर्णालीमा तीन छन् भने कोशीमा ११, मधेशमा १६, बागमतीमा २६, गण्डकीमा ९ र लुम्बिनी १२ रहेका छन्।
सुदूरपश्चिममा सरकारी वा निजी कुनैपनि मेडिकल कलेज छैनन्। सीमित क्षमता भएका केही स्वास्थ्य संस्थाले मात्रै त्यहाँका बासिन्दाको उपचार सम्भव छैन। धेरै बिरामी नेपालगञ्ज, भारत र काठमाडौं रिफर हुने गरेका छन्।
















