धनगढी – बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ५ बस्ने शान्ति लुहारका छोरा ७ वर्षीय अभिषेक लुहार जलेर घाइते भएका छन् । यही पुस २८ गते घर भित्र गाईबस्तुका लागि पकाउँदै गरेको कुँडोमा परी जलेर घाइते भएका हुन् । उनको अधिकांश जलेको छ ।
लुहारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घरको आर्थिक अवस्था निकै नै कमजोर भएकाले उपचार गराउन समस्या भएको आमा शान्ति लुहारले बताइन् । धनगढी आउँदा गाउँ घरबाट केही पैसा सरसापट गरेर ल्याएको भएपनि अहिले उक्त पैसा सकिदा उपचार गराउनै समस्या भएको उनले बताइन् ।
वडाले सिफारिस बनाइदिँदा औषधी उपचारमा केही छुट भएपनि खाना बस्नका लागि निकै नै समस्या भएको उनले दुखेसो गरिन् । शान्तिका श्रीमानको तीन वर्ष पहिले चट्याङमा परेर मृत्यु भएको थियो । शान्तिका यही एक मात्रै सन्तान हुन् ।
















