धनगढी- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समितिले प्रदेश संसदीय दलले गरेको निर्णय गलत भएको निष्कर्ष निकालेको छ ।
आज बसेको प्रदेश समितिको बैठकले सो निर्णय गलत भएको निष्कर्ष निकालेको हो । शुक्रबार सो पार्टीको बहुमत सदस्य रहेको संसदीय दलको बैठकले दलका नेता खगराज भट्टलाई हटाएर प्रदेशसभा सदस्य मानबहादुर धामीलाई चयन गरेको थियो ।
सोही बिषयलाई लिएर बसेको प्रदेश समिति बैठकले संसदीय दलको निर्णय गलत,अराजक र गम्भीर प्रकृतिको भएको निष्कर्ष निकालेको प्रदेश समितिका सचिव जनक बुढाले निशाना न्युजलाई जानकारी दिए । उनले भने ‘हाम्रो पार्टीको संसदीय दलको निर्णय गलत भएको छ । सबै कुरा पहिले जस्तै यथावत रहन्छ । पार्टी केन्द्रको नेतृत्वले समेत निर्णय सच्याउन भनेको छ ।’ यस बिषयमा थप जानकारीसहित आइतबार विज्ञप्ती आउने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादी केन्द्रका ११ जना प्रदेशसभा सदस्य रहेका छन् ।
















