बैतडी- भारतीय गाउँको बिजुली हेरेर अँध्यारोमा बस्न बाध्य तल्लो स्वराड क्षेत्रमा राष्ट्रिय प्रसारणको बिजुली र सडक सुविधा एकैसाथ पुगेपछि अँध्यारो स्वराड उज्यालो बन्न थालेको छ । सर्वसाधारणले दुर्गम स्वराडलाई सुगम उन्मुख रूपमा लिन थालेका छन् ।
राष्ट्रिय प्रसारण लाइनसँगै सडक सञ्जाल पुगेपछि भारतसँगको परनिर्भरता हटेको छ । केही वर्षअघिसम्म नेपाली मुद्रासमेत नचल्ने तल्लो स्वराड क्षेत्रका तीन वटा स्थानीय तहमा अहिले नेपालकै बिजुली बल्न थालेको छ ।
प्रदेश राजधानीबाट गाउँसम्मै मोटर चल्न थालेका छन् । सरकारले बिजुलीका लागि ३० करोड रुपियाँ र पाटन–पञ्चेश्वर सडक कालोपत्रे गर्न दुई अर्ब रुपियाँ खर्च गरेपछि स्वराडको मुहार फेरिएको छ ।
सडक सुविधा नहुनुअघि दैनिक उपभोग्य वस्तु र उज्यालोका लागि सोलार टुकी किन्न भारत जानुपर्ने पीडा थियो । तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्र पनि हो ।
यहाँ चितुवाले साँझरबिहानको अँध्यारो मौका पारेर २८ जना बालबालिकाको ज्यान लिइसकेको छ । बिजुली बलेपछि चितुवा धपाउन सजिलो हुने अपेक्षा गरिएको छ ।
स्वराडमा सडक र बिजुली सँगै पुगेपछि भारतसँगको परनिर्भरताबाट मुक्त भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताए । बिजुली नहुँदा सोलारसमेत भारतबाट आउने गरेको थियो । उनले राष्ट्रिय प्रसाारणको लाइन विस्तार हुँदा विकास र परिवर्तनको आभास भएको बताए ।
विद्युत् वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले मेलौली नगरपालिका हुँदै शिवनाथ गाउँपालिकासम्मको ११ केभी लाइनमा बिजुली चार्ज भएको बताए । उनले माघ महिनाभित्रै थप पाँच हजार घरधुरीमा मिटर जडान गरेर बिजुली बाल्ने काम पूरा हुने बताए ।
“पञ्चेश्वर गाउँपालिका केन्द्र आमचोरामा सदरमुकाम क्षेत्रबाट एक महिनाअघि नै बिजुली जोडिसकेका छौँ,” वितरण केन्द्र प्रमुख पौडेलले भने, “पञ्चेश्वर, शिवनाथ र मेलौलीमा माघ महिनाभित्र थप पाँच हजार घरधुरीमा बिजुली बाल्ने लक्ष्य राखेर काम गर्दै छौँ ।”
पञ्चेश्वर गाउँपालिकामा सुदूरपश्चिम प्रदेश सरकारबाट थप पाँच करोड रुपियाँको लागतमा विद्युतीकरण भइरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
सडक र बिजुली नहुँदा तीन वटा स्थानीय तहका करिब ७० हजार बासिन्दा महाकाली तरेर भारतीय मोटर चढेर सदरमुकाम पुग्न बाध्य थिए । मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले सडक पुगेपछि नेपालबाटै उपभोग्य वस्तु ढुवानी हुन थालेको र नेपाली मुद्रामा कारोबार सुरु भएको बताए । गोरखापत्रबाट
















