कञ्चनपुर- लालझाडी गाउँपालिका–३ कञ्जका रामदास राना काम खोज्दै भारतको दिल्ली र गुजरातसम्म पुगे । त्यहाँ उनले साग तरकारी गाडीमा लोड अनलोडको काम गरेर महिनाको १०/१२ हजार भारु कमाउँथे ।दुई वर्षअघि घरआएका बेला बस्ती छेउकै दोदा नदीमा तटबन्ध निर्माणका लागि ग्याबिन जाली बुन्ने काम भइरहेको थियो । दोदाको बाढीले लालझाडीमा वर्षेनी वितण्डा मचाउने गरेको छ । दोदा किनारमै उनले पनि तारजाली बुन्ने काम सिके । त्यसयता उनले काम खोज्दै भारत जानुपरेको छैन ।
सीप सिकेपछि अचेल गाउँघरमा सजिलै रोजगारी पाइन थालेको छ । ‘दिल्ली गुजरातसम्म काम खोज्दै पुगे, अहिले गाउँमै काम पाइएको छ,’ उनले भने, ‘आम्दानी पनि त्यहाँ भन्दा राम्रो छ ।’ राना एक महिनादेखि महाकाली नदी पारि दोधारा चाँदनी नगरपालिका–४ स्थित सामुदायिक वनमा तारजाली बुन्ने काम गरिरहेका छन् ।
त्यहाँ उनीसँगै गाउँका १४ जना सामूहमा मिलेर जाली बुन्ने काम गरिरहेका छन् । ती मध्ये अधिकांश भारतबाट फर्केकाहरु छन् । ‘म त दिल्ली, सिमला, अल्मोडा सबैतिर पुगेर फर्केको छु,’ लालझाडी गाउँपालिकाकै २१ वर्षीय पारस रानाले भने, ‘भारतमा जति काम गरे पनि बचत गर्न सकिदैन, फेरि काम पनि धेरै गाह्रो हुन्छ ।’
भारतमा होटलमा वेटरदेखि भारी बोक्ने र सडक निर्माणलगायतको काम गर्दा महिनाको १०र१२ हजार मात्रै बचत हुने गरेको उनले सुनाए । अहिले जाली बुनेर एक जनाले दैनिक दुईरअढाई हजारसम्म आम्दानी गरिरहेको पारस बताउँछन् । ‘आफ्नै गाउँ ठाउँमा काम पाउँदा घरमा पनि रखेदेख गर्न सकिन्छ,’ उनले भने, ‘भारतको मजदुरी भन्दा जाली बुन्ने काम सजिलो र आम्दानी पनि बढी छ ।’
जाली बुन्ने कामका लागि अहिले भ्याइनभ्याइ भइरहेको लालझाडीकै जोगराम चौधरी बताउँछन् । घर बनाउने मिस्त्री उनी १० वर्षदेखि यतै काम गरिरहेका छन् । डकर्मीको काम भन्दा जाली बुनेर बढी कमाइ हुने भएकाले चौधरीले अहिले मिस्त्रीको काम छाडेका छन् । ‘जाली बुन्नकै लागि सुर्खेत, जाजरकोट र नेपालजञ्जसम्म पनि पुगे,’ चौधरी भन्छन्, ‘पोहोर साल हिउँदभरि जाजरकोटमै काम भयो, यसपटक पनि बोलाउँदैछन्, तर यता काम धेरै छ जान मिल्ला जस्तो छैन ।’ केही वर्षअघिसम्म तार जाली बुन्नका लागि ठूलो संख्यामा भारतीय नागरिक यहाँ आउने गर्थे । अहिले स्थानीयले नै काम सिकेपछि भारतीय आउन छाडेका छन् । चौधरीले पनि गाउँमै तटबन्ध निर्माणका बेला भारतीयबाटै बुन्न सिकेका हुन् ।
जाली बुनेबाफत उनीहरुले प्रति वर्गमिटर ३० रुपैयाँका दरले ज्याला पाउँछन् । एक सय वर्ग मिटर हाराहारीको जाली एक जनाले दिनमा ५र६ वटा बुन्न सक्छ । १४ जनाको समूहले दैनिक ५०/६० भन्दा बढी जाली बुन्न सकिने रामदासले बताए । महाकाली नदी किनारको सामुदायिक वनमा तारको सानो गोला बनाउनेदेखि तिनलाई एउटा साइजमा बुनेर जाली बनाउने काम भइरहेको छ ।
यसमा खटिएका कामदारलाई एकछिन फुर्सद छैन । बुन्ने बेला सबैथोक गनेर काम हुने भएकाले एकअर्कासँग बोल्न समेत पाइदैन । ‘बुन्दाखेरि केही गरी बिर्सेमा फेरि गन्नुपर्छ, काममा खटिँदा एकध्यान भएर लाग्नुपर्छ,’ रामदास भन्छन् ।
सामुदायिक वन क्षेत्रमा उनीहरुका गतिविधि हेर्दा कुनै उद्योगकै काम भइरहेको जस्तो देखिन्छ । घिर्निहरुमा तार बेरेर गोलो बनाउने, काटने र एउटा साँचोमा राखेर बुन्ने काम भइरहन्छ । बिहानैदेखि साँझ अबेरसम्मै यो काम चलिरहन्छ । ‘यो काम असारसम्म जान्छ,’ चौधरीले भने, ‘अन्तबाट पनि माग आइरहेको छ, तर भ्याउन सकिदैन ।’ हरेक वर्षजसो जाली बुन्ने काम असोज कात्तिकदेखि असारसम्मै चल्छ ।
उनका अनुसार कुनै वर्ष असार, साउनमा समेत काम भ्याईनभ्याइ हुने गरेको छ । एक दशकअघिसम्म तार जाली बुन्ने कामका लागि गाउँ गाउँमा भारतीय नागरिक पुग्थे । उनीहरुले काम गर्ने स्थलमै छाप्रो राखेर त्यही बास बस्थे । महिनौंसम्म काम गर्थे ।
यस्तो काम गर्ने नेपाली निकै कम थिए । बिस्तारै नेपालीहरुले पनि काम सिक्दै गएपछि अहिले भने भारतीय नागरिक विस्थपितनै भएका छन् । पछिल्लो समय थारु समुदायका युवाहरु यसमा बढी आकर्षित भएका छन् । धेरैजसो भारतमा काम गरेर फर्केकाहरु अहिले सीप सिकेर राम्रो आम्दानी गरिरहेका छन् । यो काम गर्ने अधिकांश युवा छन् । कान्तिपुरबाट
















