धनगढी- नेपालको चार धाम मध्येको एक अछामको वैद्यनाथ धाममा कोटि होम महायज्ञको प्रचार–प्रसार तीव्र पारिएको छ । साँफेबगर नगरपालिका–१ मा रहेको वैद्यनाथ मन्दिरमा यहि फागुन १० गतेदेखि २५ गते शिवरात्रिसम्म कोटि होम महायज्ञ सञ्चालन हुँदैछ ।

कोटि होम प्रचार–प्रसार क्रममाका विभिन्न सरकारी, गैरसरकारी, कार्यालयमा निम्तो दिन जाने क्रममा रहेको प्रचार–प्रसार समिति सदस्य डिल्लीराज जोशी (राजेश) ले जानकारी दिए । प्रचार–प्रसारको लागि सुदूरपश्चिमका विभिन्न पालिका, जिल्ला कार्यालयमा जाने गरेको सदस्य जोशीले बताए ।

पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण वैद्यनाथ धाममा ६÷६ वर्षमा गरिने लक्ष होम सहितको अर्ध कुम्भ मेला, १२÷१२ वर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटी होम महायज्ञसहित महाकुम्भ मेला गरिने जनाएको छ ।

वैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्वको प्रचार प्रसार, वैदिक सनातक धर्म संस्कृतिको संरक्षण संवर्द्धन, आध्यात्मिक चेतनाको पुनर्जागरण, वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने, गुरुकुल शिक्षाको सुदृढीकरण तथा वैद्यनाथ वेद विद्याश्रमलाई आयुर्वेदे माविमा स्तरोन्नति, लोक संस्कृति,लोककला, लोकगाथाको संरक्षण संवर्द्धन गर्ने उद्देश्यका साथ कोटि होमको आयोजना गर्न गरिएको हो ।

कोटी होमको मिति नजिकिँदै गर्दा आयोजक समितिका विभिन्न समितिहरू आ–आफ्नो तरिकाले सक्रिय भएका छन् । कोटी होमका लागि आवश्यक पर्ने बह्रामणको व्यवस्थापन भैसकेको छ भन्ने अन्य कार्य पनि तीव्र पारिएको छ । कोटी होम महायज्ञको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने कार्यक्रम तय भएको छ ।















