धनगढी- सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेशको गरिबी न्यूनीकरणका लागि सबै तहका सरकार लाग्नु पर्ने बताएका छन् ।
स्थानीय सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी दुई दिने तालिम समापनमा बोल्दै उनले सुदूरपश्चिममा गरिबी न्यूनीकरण गरेर समृद्धिको यात्रा तय गर्नु पर्ने बताए ।
विगतका गलत अभ्यासहरूलाई त्याग्दै अहिले अवलम्बन गरिएका भौतिक, सामाजिक, आर्थिक, विकासका असल र अभ्यास उपलब्धिमूलक नीतिलाई निरन्तरता दिँदै अघि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
नेपालको संविधानको मुलमर्म सङ्घ, प्रदेश र स्थानीय तहबिच सहकारिता, सहअस्तित्व र समन्वयको आधारहरू रहेको भन्दै यो मर्म र भावना अनुसार तीन तहबीचको समन्वयात्मक सम्बन्धको सिद्धान्तलाई व्यवहारिक रूप उतार्न प्रदेश सरकार सधैँ प्रतिबद्ध रहेको समेत भौतिक मन्त्री देउवाले जिकिर गरे ।













