सुर्खेत- सुर्खेतमा होटलको छतबाट खसेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेख नौमुले गाउँपालिका– ८ चौराठाका ५१ वर्षीय दीप चन्द छन्। वीरेन्द्रनगर नगरपालिका– ६ गोदामलाइनमा रहेको नौलो होटलको छतबाट खसेर चन्दको मृत्यु भएको हो। उनी आफैँ खसेका हुन् वा कसैले खसाएको हो भन्नेबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
बिहान मृत अवस्थामा भेटिएकाले उनी राति खसेको अनुमान गरिएको छ। गएराति छतबाट खसेको जानकारीपछि घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता लक्ष्मण शाहीले बताए। चन्दको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतको कालागाउँमा राखिएको छ ।













