कैलाली- नेपाली सेनाले महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा “विविध सैनिक प्रदर्शनी तथा युनिट रन २०८०” को आयोजना गर्ने भएको छ । सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीले दोश्रो पटक उक्त कार्यक्रमको आयोजना गर्न लागेको हो ।
धनगढीस्थित रंगशालामा भोलि देखि २८ गते सम्म सञ्चालन हुने कार्यक्रमहरूको सम्पूर्ण तयारी पूरा भएको सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीले जनाएको छ । कार्यक्रममा विविध सैनिक प्रदर्शनीका साथै युद्धक, युद्ध पद्धति तथा युद्ध सेवा पद्दती युनिटहरूको भूमिका तथा विभिन्न हातहतियार, ईक्युप्मेन्ट, पोसाक, सामाग्री, युद्धकला झल्कने झलक सम्बन्धी वास्तविक प्रदर्शनीको प्रदर्शन गरिने जनाएको छ ।
त्यस्तै, फाल्गुण २८ गते बिहान “युनिट रन २०८०” का विभिन्न विधाहरूमा उमेर समूहको प्रतियोगिता समेत आयोजना गरिने सेनाले जानकारी दिएको छ । ५ किलोमीटर दौड अन्तर्गत मा.वि. तथा उच्च मा.वि.का छात्र÷छात्राहरूले सहभागीता जनाउन पाउने बताउदै उक्त प्रतियोगितामा प्रथम, द्वितीय र तेश्रो हुनेले क्रमशः १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्ने जनाएको छ ।
यसैगरी खुला १० किलोमीटर दौड अन्तर्गत १८ वर्ष माथिका पुरुष तथा महिलाहरूले सहभागीता जनाउन पाउने बताउदै सेनले उक्त प्रतियोगितामा समेत प्रथम हुनेले १५ हजार, द्वितीयलाई १० हजार र तृतीय हुनेले ७ हजार नगदका साथै प्रथम हुने महिला र पुरुषलाई माउन्टेन बाइकको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ ।













