धनगढी- दलित महिलालगायत सीमान्तकृत समुदायका महिलाहरू अझै पनि पछाडि परिरहेकाले उनीहरूलाई माथि उकासन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् । दलित महिला संघ (फेडो) ले बिहीबार धनगढीमा आयोजना गरेको नेपालमा दलित महिला र किशोरीको मानव अधिकार प्रवर्धनमा संचार क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।
दलित महिला संघले विभिन्न परियोजना मार्फत दलित महिला र सीमान्तकृत समुदायका महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि राम्रो भूमिका खेलेको उनीहरुले बताएका छन् । यस संस्थाले कैलालीका ६ वटा पालिकामा दलित महिला र अन्य सीमान्तकृत समुदायका महिलाहरूलाई आत्मा निर्भर बनाउनका लागि विभिन्न परियोजनाहरू सञ्चालन गरेको छ ।
परियोजना मार्फत दलित महिला, केटीहरू र अन्य सीमान्तकृत समुदायका महिलाहरूलाई विभिन्न उद्यमशीलता तालिमहरू दिइरहेको दलित महिला संघ सुदूरपश्चिम अध्यक्ष अम्बिका ताम्राकारले बताइन् । तालिम लिएका केही महिलाहरू आत्मनिर्भर समेत भइसकेको उनले बताइन् ।
लैङिक जातीय विभेदको अन्त्य गरेर आफ्नो अधिकार लिनका लागि भएपनि यस्ता कार्यक्रमहरू गर्दै आइरहेको उनको भनाइ छ । महिला समूह गठन, फ्रन्टलाइन लिडर÷डिर्फन्डर्स र निर्वाचित महिला प्रतिनिधि संलग्न र परिचालन गरिएको उनले बताइन् ।
कैलालीका ६ वटा पालिकामा ५१ वटा समूह बनाएर परियोजना सञ्चालन गरिएको थियो । उक्त परियोजनामा दलित महिलाहरू एक हजार २०५ जना आबद्ध रहेका थिए भने ४१४ जना दलित महिलाहरू स्वरोजगार समेत भइसकेका छन् । दलित महिला संघका कार्यक्रम संयोजक विनोद घिमिरेले हालसम्म संस्थाले गरेका कामको प्रस्तुतीकरण गरेका थिए ।













