डडेल्धुरा- डडेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै हातपात भएको छ। बिहीबार अपराह्न ३ बजे नगरपालिकाको वडा नम्बर १२ स्थित हलमा बसेको बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि हातपात भएको हो।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कार्कीका अनुसार जोशीमाथि भाँचिएको प्लास्टिकको कुर्सीले प्रहार गर्दा टाउकोमा चोट लागेको छ।उनको टाउकोमा चोट लागेपछि नजिकैको जोगबुढा अस्पतालमा उपचारका लागि लगिएको थियो। उनीमाथि कसले हातपात गरेको यकिन भइनसकेको डिएसपी कार्कीले बताए।
प्रहरीका अनुसार कार्यपालिका बैठकमा शिक्षा शाखा प्रमुख, उपप्रमुख लगायतबीच विवाद भएको थियो। विवाद उत्पन्न भएपछि हातपातको स्थितिमा पुगेको प्रहरीको भनाइ छ। यसमा कसैलाई पक्राउ गरिनसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराले थप अनुसन्धान अघि बढाएको छ।













