धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटनलाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
धनगढीको चैतन्य पाठशालामा साेमवार ‘भू–स्वर्ग परिकल्पना सुदूरपश्चिम नेपाल’ पुस्तक विमर्श समारोहमा उनले यस्तो बताएका हुन् ।
क्याप्टेन वेद उप्रेतीद्वारा लिखित पुस्तकले सुदूरपश्चिमलाई चिनाउने जमर्को गरेको भन्दै उनले भू–स्वर्ग सुदूरपश्चिमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चिनाउन आवश्यक रहेको बताए ।सबैले आफ्नो कर्म गरेमा समृद्ध सुदूरपश्चिम बनाउन समय नलाग्ने मुख्यमन्त्रीले चर्चा गरे ।
‘प्रदेश सरकारले मानसखण्ड सम्मेलन, खप्तड आध्यात्मिक सम्मेलन आयोजना गर्नुको उद्देश्य पनि पर्यटन विकासकै लागि थियो” मुख्यमन्त्री शाहले भने, “यसैवर्ष रामारोशनमा तीन हजार बढी पर्यटक आउँदा यसको प्रचारप्रसार विश्वमै भएको छ ।”
क्याप्टेन वेद उप्रेतीले चराको आँखाबाट आफूले सुदूरपश्चिमलाई कैद गरेर सम्भाव्यताको मार्गदर्शनका लागि पुस्तक लेखेको चर्चा गरे ।
उप्रेतीले भने, “यो कफी टेबुल बुक हो । यसमा सम्भाव्यता देखाइएको छ । जुन सम्भाव्यतालाई २० प्रतिशत मात्र पनि पछ्याउने हो भने प्रदेश समृद्ध बन्न सक्छ ।”













