धनगढी- कैलालीमा एक सय ६५ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोगले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो ।
आयोगले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै हालसम्म एक सय ५७ जना भूमिहिन दलित र आठ जना भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको जनाएको छ ।
धनगढी उपमहानगरपालिका–९,का २२ परिवार भूमिहिन दलित,लम्कीचुहा नगरपालिका–३ का एक सय ३० परिवार भूमिहिन दलित,गोदावरी नगरपालिका–१ का एक परिवार भूमिहिन दलित,छ परिवार भूमिहिन सुकुम्बासी र बर्दगोरिया गाउँपालिकाका चार परिवार भूमिहिन दलित र दुई परिवार भूमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको राष्ट्रिय भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।
चालु आव भित्र २० हजार भूमिहनि दलित,भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने गरि काम अगाडि बढाइएको उनले बताए । उनले गोदावरी नगरपालिकाका ५६ परिवार भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने निर्णय भएपनि क्षेत्रफल चित्त नबुझेकाले जग्गाधनी प्रमाण पुर्जा लिन नचाहेकोे बताए ।
जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीका एक लाख १० हजार छ सय पाँच,भूमिहिन दलितका आठहजार नौ सय ७३ र भूमिहिन सुकुम्बासीका ११ हजार एक सय २३ वटा गरि एक लाख ३० हजार सात सय एक निवेदन रहेको राष्ट्रिय भूमि आयोगले जनाएको छ ।













