धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरेको खानेपानी र सिचाइको समस्या समाधानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
बिहीबार कैलालीको चुरे गाउँपालिका–३ सहजपुरमा स्थानीय जनतासँगको भेटघाटमा बुझाइएको ज्ञापनपत्र बुझ्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘ज्ञापनपत्रमा उठाएका समस्याहरूमध्ये प्रमुख समस्या खानेपानी र सिँचाइको रहेको छ । त्यसको समाधान गर्न सहयोग गर्ने प्रतिबद्वता व्यक्त गर्दछु ।’
त्यस्तै अध्यक्ष प्रचण्डले स्थानीय जनताको माओवादीप्रतिको आकर्षण बढ्दै गएको बताए । उनले भने ‘तराई–मधेसको अभियानले माओवादीप्रति जनतामा एउटा नयाँ उभार आएको छ । अबका दिनहरू माओवादी र जनताका दिन हुनेछन् ।’
नेकपा (माओवादी केन्द्र)ले जेठ २ गतेदेखि बैतडीबाट मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्दैछ । सोही अभियान सुरुवात गर्न बैतडी जाने क्रममा अध्यक्ष प्रचण्डले चुरेको सहजपुरमा स्थानीयबासीसँग भेटघाट गरेका थिए । अध्यक्ष प्रचण्डलाई चुरे गाउँपालिका–५ खानीडाँडाका स्थानीयले पनि स्वागत गरेका थिए ।













