धनगढी । कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा नवनिर्मित कृषि हाटबजार सञ्चालनमा आएको छ।
स्थानीय कृषकको उत्पादनलाई बजारमा प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले निर्माण गरिएको हाटबजार आज (सोमबार)देखि सञ्चालनमा आएको हो ।
हाटबजारको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । नगरप्रमुख भट्टले उद्घाटन कार्यक्रममा बोल्दै हाटबजारले कृषकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने विश्वास व्यक्त गरे। उनले भने ‘यो हाटबजार नगरबासी किसानहरूको उत्पादनलाई स्थानीय स्तरमै बजारीकरण गर्ने, आत्मनिर्भरता बढाउने,आर्थिक समृद्धिको मार्ग खोल्ने महत्वपूर्ण पाटो हो । यसबाट उत्पादन र उपभोग बीचको दूरी घट्नेछ र उपभोक्ताले ताजा तथा सस्तो मूल्यमा स्थानीय उत्पादन खरिद गर्न सक्नेछन्।’
हाटबजार पारदर्शी, व्यवस्थित र निर्धारित कार्यविधिअनुसार सञ्चालन हुनेछ र नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर प्रोत्साहन दिने उनले बताए। नगरपालिकाले हालसम्म १५ हजार कृषक परिचयपत्र वितरण गरिसकेको जानकारी दिँदै नगरप्रमुख भट्टले किसानले आफ्ना तरकारी तथा कृषि उपज हाटबजारमा आफै बिक्री गर्न सक्ने र बिचौलियाबाट छुटकारा पाइने बताए।
हाटबजार सञ्चालनसँगै कृषकको उत्पादकत्वमा वृद्धि, आय आर्जनको स्रोतमा विस्तार र आत्मसम्मानपूर्वक कृषिमा लाग्ने वातावरण बन्ने अपेक्षा गरिएको छ। गोदावरी नगरपालिका र जर्मन सहयोग संस्था जीआईजेडको संयुक्त लगानीमा करिब रु ४२ लाखमा कृषि हाटबजार निर्माण सम्पन्न गरिएको जनाइएको छ ।















