काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, “मनसुन पूर्वी एसिया क्षेत्र मुख्यगरी फिलिपिन्सतिर सोहोरिएर गएकाले कोशीबाट अन्यत्र फैलिन पाएन, अझै केही दिन मनसुन फैलिने सम्भावना देखिँदैन ।”
मनसुन भित्रिए लगत्तै जेठ १७ गते पूर्वी नेपालमा ठूलो वर्षा र बाढी आयो । धरान–धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक लेउती खोलाको बाढीले बगायो । झापामा माइखोलाको बाढीले २२ घर डुबान भयो । त्यसपछि वर्षा भएको छैन ।
त्यसो त पश्चिम तथा मध्यक्षेत्रमा स्थानीय र पश्चिमी वायु सक्रिय छ । मौसमविद् झा पश्चिमी वायु अझै बलियो रहेकाले मनसुन आउन नपाएको बताउछन् ।रासस















