धनगढी । कैलालीमा प्रहरीले ज्यानमार्ने उद्योगका फरार प्रतिवादीलाई नियन्त्रणमा लिन गोली चलाएको छ । जिल्लाको भजनी नगरपालिका–७ मा प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) राजकुमार सिंहले बिहीबार दिउँसो गोली चलेको पुष्टि गरेका छन् ।
टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्रसिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–३ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो ।
भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए । गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएकामा टीकापुरका रिदम ढुंगाना र मिलन चन्द रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर र दुई वटा गोली प्रहार गर्नुपरेको जनाएको छ । गोली प्रहारबाट दुवै जनाको घुडामुनी चोट लागेको र उनीहरुलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको जनाइएको छ ।















