कैलाली । कैलालीको गोदावरी नगरपालिका-१२ कोलमुडा क्षेत्रमा रहेका ऎतिहासिक किल्ला, झर्ना प्राकृतिक तालहरु गुमनाम हुन थालेका छन् ।
आन्तरिक पर्यटकको रोजाइमा रहेको सो क्षेत्र सरकारले चासो नदिँदा गुमनाम हुन थालेको हो । नाइलताल,ताराकोट किल्ला,वड्डीमछलीमा रहेका ऐतिहासिक किल्ला र कलकल बगिरहने झर्नाहरु सो क्षेत्रमा अवस्थित छन् ।
सडक पिच,खानेपानीको अभावका कारण यहाँ अवलोकन गर्न आउने पर्यटकले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । दुईवटा झोलुङ्गे पुल,खोलामा सधैँभरी सफापानी बगिरहनुले गर्मियाममा गर्मी छल्न यो क्षेत्र पर्यटकको रोजाइमा परेको स्थानीय करनसिंह बडैलाले निशाना न्युजलाई जानकारी दिए ।
‘यो ठाउँको पहिचान छुट्टै छ’ उनले भने ‘२०१४ साल तिर होे,तत्कालीन राजा महेन्द्र यो क्षेत्रबाट दिपायल सिलगढी जानु भयो। त्यो बेला उनलाई असहज महसुस हुँदा कोलमुडा झोलुङ्गे पुल स्थापनाका लागि पहल गर्नुले झोलुङ्गेपुल निर्माण सम्भव भएको हो ।’ उनले भने ‘अछामदेखि डोटीका मानिसहरु हाटलिन भारतको टनकपुरसम्म जान यो क्षेत्र प्रयोग गर्न गर्थे । यति महत्वपुर्ण रहेको स्थानमा सरकारको ध्यान जान नसक्नुले पछि पर्दै गएको छ ।’

उनले २०२३ सालमा कटान गरी बस्ती बसेको पनि बताए । गोदावरी-१२ का वडाध्यक्ष भीमबहादुर खड्काले वडाको पहलमा पिकनिक स्पटको निर्माण भएको बताए ।
वडाकै बजेटबाट दई बर्षमा १० लाख खर्च गरेर कोलमुडा क्षेत्रमा पार्क निर्माण गरेको उनले बताए । ‘हामीले प्रदेश सरकारलगायत सबैलाई विकासका लागि आवश्यक बजेटको माग गर्दा पनि कसैले चासो दिदैनन्’ उनले भने ‘यसपाली पनि यस क्षेत्रका सांसदलाई सांसद विकास कोषबाट बजेट छुट्याइ दिन भनेका छौँ हेरौ के हुन्छ ?’
उनले भने ‘मैले यहाँको विकासका लागि पहल नगरेको होईन गरेको हुँ । आगामी दिनमा पनि पहल गरिरहने छु । दुई तिन ठाउँमा काम गरेका छौँ । नाईलतालको स्तरोन्नति,ऐतिहासिक ताराकोट किल्लाको संरक्षणका लागि घेरवारका काम गरेका छौँ ।’

उनले भने ‘यो क्षेत्रबाट पहाडका ७ वटै जिल्ला जोड्ने बैकल्पिक राजमार्ग निर्माणको लागि बहुबर्षिय योजना अन्तरगत काम भइराखेको छ । हेरौँ कहिलेसम्म सम्पन्न हुन्छ ।’
ठाउँको प्रचारप्रसारको कमी र विकासको गति सुस्त हुनाका कारण यस क्षेत्रमा रहेका ऐतिहासिक किल्ला,प्राकृतिक ताल,झर्ना सबै गुमनाम हुन थालेको उनको भनाइ छ । हेर्दै मनमोहक र रमणीय यो क्षेत्रमा राज्यको ध्यान जान जरुरी रहेको उनले बताए ।
















