धनगढी । लोक सेवा आयोग हीरक जयन्ती वर्ष २०८२ को अवसरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम’ गरिएको छ ।
आज धनगढीमा लोक सेवा आयोगको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै लोक सेवा आयोगका केन्द्रीय अध्यक्ष माधवप्रसाद रेग्मीले यस्ता कार्यक्रम गरेर लोक सेवाका कामका बारेमा जानकारी दिन खोजिएको बताए ।
उनले लोक सेवाको लामो इतिहास भएको बताउँदै उनले पछिल्लो समय नकरात्मक प्रचारप्रसार भइरहेकोले प्रतिष्पर्धी कम हुँदै गएको बताए । उनले लोक सेवाले क्वालिटीको प्रतिष्पर्धी खोजिरहेको बताए । दुई चार पटक असफल हुँदैमा हरेश खान नहुने बताउँदै उनले वैकल्पिक उपाय पनि खोजिराख्नु पर्ने बताए ।
कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले तीन तहका सरकारबीच समन्वय,सहकार्य र सहअस्तित्व आवश्यक भएको बताए ।
उनले भने ‘एउटै प्रकृति कार्यक्रम संघ,प्रदेश र स्थानीय तहले गरिरहेको हुन्छ । आ–आफ्नो ढंगले सञ्चानल गर्ने भए । समन्वय भए अझै राम्रो हुन्थ्यो । यसका लागि तीनै तहका सरकाबीच समन्वय आवश्यक छ ।’
उनले लोक सेवा आयोगका बारेमा सबैलाई जानकारी गराउन पनि आवश्यक भएको बताउँदै उपमहानगरपालिका सहकार्य गर्न तयार रहेको बताए ।
सुदूरपश्चिम प्रदेशका सरकारका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेलले लोक सेवा सबैभन्दा बढी विश्वासिलो,निष्पक्ष र मर्यादित संस्था भएको बताए । उनले लोक सेवा आयोगमा गरेको मेहनत खेर नजाने बताए ।















