धनगढी । नेपाली कम्युनिष्ट पार्टीको कैलाली क्षेत्र नं. ५ को निर्वाचन लक्षित मूल व्यवस्थापन समितिको संयोजको जिम्मेवारी पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनलाई दिएको छ ।
पुनको संयोजकत्वमा गठित ३३ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजक पार्टीका केन्द्रीय सदस्य दिनेशचन्द्र सुवेदीलाई बनाएको छ ।
कैलाली क्षेत्र नं. ५ बाट नेपाली कम्युनिष्ट पार्टीकातर्फबाट आगामी फानुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रेमबहादुर आले चुनावी मैदानमा छन् ।
प्रचार प्रसारलाई व्यापक बनाउन क्षेत्र नं. ५ मा रहेका धनगढी उपमहानगरपालिका १९ वडा र कैलारी गाउँपालिकाका वडा नं. ६ र ९ गरि २१ वडाका वडास्तरीय उपसमिति गठन गरेको नेता पुनले जानकारी दिए ।
त्यस्तै प्रचार प्रसार व्यवस्थित बनाउन पार्टीका केन्द्रीय सदस्यहरु र मूल व्यवस्थापन समितिको जिम्मेवारी तोकिएको उनले जानकारी दिए ।
जस अनुसार केन्द्रीय सदस्य पुनलाई धनगढी उपमहानगरपालिका–७,१५ र १७, केन्द्रीय सदस्य प्रेम विसीलाई वडा नं. १,२ र ८, केन्द्रीय सदस्य शान्ति नेपालीलाई वडा नं. ९,१० र ११, केन्द्रीय सदस्य लक्ष्मी चौधरीलाई वडा नं. ४,५ र ६, केन्द्रीय सदस्य रमेश धामीलाई वडा नं. ३,११ र १३, केन्द्रीय सदस्य सुशीला बुढाथोकीलाई वडा नं. १४,१८ र १९ र केन्द्रीय सदस्य हनुमान चौधरीलाई धनगढी उपमहानगरपालिका वडा नं. १६,कैलारी गाउँपालिका–६ र ९ को जिम्मेवारी दिइएको जनाइएको छ ।
यस्तै, बुद्धिजीवी परिचालन,स्वास्थ्य परिचालन,निर्वाचन आयोग परिचालन,अनुगमन तथा सूचना समन्वय,प्रचारप्रसार,सांस्कृतिक परिचालन,युवा स्वयंसेवक परिचालन,कानुनी परामर्श,दलित परिचालन,आदिवासी जनजाति परिचालन,थारु परिचालन,सुरक्षा तथा प्रशासन समन्वय,जनसम्पर्क समन्वय र विद्यार्थी परिचालन उपसमितिहरु गठन गरिएको नेता पुनले जानकारी दिए ।
पार्टीले चुनावी प्रचारप्रसारलाई तीब्र बनाउँदै लगेको बताउँदै नेता पुनले निर्वाचन क्षेत्रभित्रका वडाहरुमा उम्मेदवारको उपस्थितिमा निर्वाचन परिचालन सचिवालय स्थापना गर्ने काम भइरहेको बताए ।
हालसम्म धनगढी उपमहानगरपालिका वडा नं. १,२,७,९,१४,१५,१८ र १९ मा निर्वाचन तयारी बैठक तथा वडास्तरीय निर्वाचन परिचालन सचिवालय स्थापना गरिएको र अन्य वडामा पनि बैठक,सचिवालय स्थापना गर्ने क्रम जारी रहेको उनले जानकारी दिए ।













