धनगढी । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं कैलाली क्षेत्र नं. ५ का उम्मेदवार प्रेमबहादुर आलेले भ्रष्टहरुलाई कारबाही गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
सोमबार निर्वाचन क्षेत्रका वडाहरुमा निर्वाचन परिचालन सचिवालय उद्घाटन गर्दै नेता आलेले यस्तो बताएका हुन् ।
पूर्वमन्त्री समेत रहेका आलेले भने ‘पोखरा विमानस्थलमा भएको भ्रष्टाचारविरुद्ध मैले सार्वजनिक लेखा समितिदेखि सदनसम्म आवाज उठाउदा कारबाहीको दायरामा ल्याइएको छ । भैरहवा विमानस्थलमा पनि भ्रष्टाचार भएको छ । त्यस्ता अपराधीहरुलाई कठघरामा ल्याउन मेरो उम्मेदवारी हो ।’

उनले भ्रष्टहरुलाई सरकारले संरक्षण गरेका कारण अहिलेको परिस्थिति आएको बताउँदै समयमै भ्रष्टहरुलाई कारबाही गरेको भए जेनजी आन्दोलन नहुँने र यो अवस्था नआउने बताए । उनले भने ‘जेनजी भाइबहीनीहरुले जे गर्नुभएको छ । त्यसलाई म सम्मान गर्न चाहान्छु ।’
बिगतमा जनमुखी काम गरेका कारण आफू डोटीबाट लगातार तीन पटक विजयी भएको बताउँदै नेता आलेले अझ पनि जनताको सेवाका लागि अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, उनले धनगढी–खुटिया–विपीनगर–दिपायल हुँदै उरैभन्ज्याङ सडक अपूरो रहेको उल्लेख गर्दै त्यसको स्तरोन्नतिका लागि जोड दिने बताउँदै सो सडक निर्माणपछि थुप्रै रोजगारी फस्टाउने बताए ।
नेता आलेले यो निर्वाचन क्षेत्रको समग्र विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । उनले जेनजीहरुको रोजगारीका लागि पनि सक्दो पहल गर्ने बताए ।
उनले एक फरक प्रशंगमा बोल्दै आफूलाई टुरिष्ट उम्मेदवार भन्नेमा कुनै तुक नभएको बताए । उनले भने ‘म २७ वर्षदेखि धनगढीमा घर बनाएर बस्दै आएको छु । टुरिष्ट उम्मेदवार भनेको सुन्दा अचम्म लाग्छ । म यहाँको बासिन्दा हो कसरी टुरिष्ट भए ।’
चुनावी प्रचारप्रसारलाई तीब्र बनाउँदै लगेका नेता आलेले सोमबार मात्रै निर्वाचन क्षेत्र भित्र रहेका कैलारी गाउँपालिका–६ र ९,धनगढी उपमहानगरपालिका वडा नं. ५,६,८,१२ र १६ मा निर्वाचन परिचालन सचिवालय उद्घाटन तथा तयारी बैठक गरेका छन् ।
निर्वाचन परिचालन सचिवालय उद्घाटन तथा तयारी बैठकमा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरु ओमप्रकाश पुन,दिनेशचन्द्र सुवेदी,रमेशसिंह धामी,सुशीला बुढाथोकी,शान्ति नेपाली,लक्ष्मी चौधरी,कल्पना रेग्मीलगायतको उपस्थिति रहेको थियो ।
















