धनगढी। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले वर्षायामसँगै परिसरमा अत्यधिक झाडी र बुट्यान बढेपछि सरसफाइ अभियानका लागि सामुदायिक सहयोगको आह्वान गरेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले झाडीको अत्यधिक विस्तारले परिसरको सरसफाइ, सौन्दर्य तथा आवतजावतमा समस्या सिर्जना गरेको जनाउँदै कर्मचारी, सेवाग्राही र आगन्तुकको सुरक्षामा समेत चुनौती थपिएको बताएका छन् । उनका अनुसार झाडीका कारण सर्प, किरा तथा अन्य जीवजन्तुको जोखिम पनि बढेको छ ।
विश्वविद्यालयद्वारा जारी सूचनामा संस्थाको प्रारम्भिक चरण र सीमित बजेटका कारण सम्पूर्ण सरसफाइ तथा झाडी कटान तत्काल आफ्नै स्रोतबाट गर्न कठिन भएकाले सामाजिक संस्था, युवा क्लब, नेपाल रेडक्रस, नागरिक समाज तथा स्थानीय समूहलाई अभियानमा सहभागी हुन अनुरोध गरिएको उल्लेख छ ।
विश्वविद्यालयले जनशक्ति, श्रमदान, झाडी काट्ने उपकरण, सुरक्षा सामग्री तथा फोहोर व्यवस्थापनमा सहयोग उपलब्ध गराई परिसरलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्न सबै पक्षसँग आग्रह गरेको छ ।
इच्छुक संघ–संस्थाले विश्वविद्यालय प्रशासनसँग समन्वय गरेर सरसफाइ अभियानमा सहभागी हुन सक्ने जनाइएको छ ।
उपकुलपति डा. जोशीले स्वास्थ्य विज्ञान शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा विकास भइरहेको विश्वविद्यालयको स्वच्छ र सुरक्षित वातावरण निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् ।















