टंक कुँवर
कैलाली । आफ्नो जन्मभुमिमा केही गर्नुपर्छ र उपचारका लागी सुदुरपश्चिमका नागरिकले भारत तथा देशका अन्य ठुला सहर धाउनु पर्ने बाध्यता अन्त्य गर्नुपर्छ भन्ने दृढ संकल्प बोकेर स्वास्थ्य क्षेत्रमा होमिएका व्यक्ति हुन् निसर्ग अस्पतालका कार्यकारी अध्यक्ष तीर्थराज पन्त ।
स्वास्थ्य सेवा केवल व्यवसाय होइन समाज प्रति जिम्मेवार र मानवीय सेवाको महत्वपुर्ण माध्यम हो भन्ने मान्यता राख्ने पन्तको यात्रा भने सहज थिएन । आफ्नो जन्मभूमि सुदुरपश्चिमबाट टाढा रहेर लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका उनले स्वास्थ्य सेवाका अनेक अनुभव सगाले । पहिला नेपालगञ्जको नर्सिङ होम र त्यसपछि नेपालगन्जकै मेडिकल कलेजबाट स्वास्थ्य सेवाको यात्रा सुरु गरेका उनले लामो समय नेपालगन्जमै बिताए ।
त्यसक्रममा सुदुरपश्चिमबाट उपचारका लागि नेपालगन्ज पुग्ने सयौँ विरामीको उपचार तथा हेरचाहमा संलग्न हुने अवसर पाए ।
स्वास्थ्य क्षेत्रमै काम गर्ने सिलसिलामा छ बर्ष बिदेशमा समेत बिताए । विदेशमा रहदा आधुनिक स्वास्थ्य प्रविधि,उपकरण र उपचार पद्धतिबारे नजिकबाट बुझ्ने अवसर पाए । यही अनुभवले उनलाई आफ्नो जन्मभुमिमा पनि गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ भन्ने सोचको विकास गरायो । सन् २०११ मा उनी आफ्नै क्षेत्र धनगढी फर्किए । धनगढी पर्किएपछि उनले यहाँको स्वास्थ्य अवस्थालाइ नजिकबाट नियाल्न थाले । सरकारी अस्पतालले पनि त्यतिबेला पर्याप्त विशेषज्ञ सेवा नदिसकेको अवस्था र निजी क्षेत्रले पनि सक्दो सेवा दिए पनि उपयुक्त र नयाँ टेक्नोलोजी को पद्धतिबाट उपचार हुन नसकेको देख्दा उनी चिन्तित बने । स्वास्थ्य मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको अपरिहार्य आवश्यकता हो । तर जटिल रोग लाग्दा उपचारका लागि भारत वा अन्य प्रदेश जानुपर्ने बाध्यता सुदुरपश्चिमका नागरिकले भोगिरहेका थिए । यही अवस्थालाइ परिवर्तन गर्ने सोच पन्तमा पलायो । आफनै छोराछोरी विरामी हुँदा आधुनिक उपकरण र अनुभवी चिकित्सकको अभावमा अपेक्षित उपचार गराउन नसकेको अनुभवले उनलाइ थप संवेदनशील बनाएको थियो ।
त्यसैले आफ्नो अनुभव र सिकाइलाई आफ्नै जन्मभुमिको स्वास्थ्य सेवामा प्रयोग गर्ने निर्णय गरे । सुरुवाती चरणमा तीन जनाको साझेदारीमा पाचँ शय्याको पोलिक्लिनिक संचालनमा ल्याए । सानो लगानी र सीमित पूर्वाधारबाट भएको त्यो प्रयास विस्तारै,२५,५०,१०० शय्याको निसर्ग अस्पतालका रुपमा स्थापित भयो ।
पन्तका अनुसार यो सफलता कुनै एक व्यक्तिको प्रयासले मात्रै सम्भव भएको होइन । चिकित्सक, स्वास्थ्यकर्मी र व्यवस्थापन टिमको सामुहिक मेहनतले आजको निसर्ग अस्पताल निर्माण भएको हो ।
म अहिले जहाँ छु त्यो टिमकै कारण सम्भव भएको हो । चिकित्सकहरुको सुझाव,साथ र सहयोगले स्वास्थ्य क्षेत्रमा केही नयाँ गर्न सफल भएको महसुस गरेको छु उनी भन्छन् ।
सुदरपश्चिमलाई स्वास्थ्य उपचारको केन्द्रका रुपमा विकास गर्ने लक्ष्यसहित स्थापना भएको निसर्ग अस्पतालले पछिल्लो समय आधुनिक स्वास्थ्य सेवा विस्तारमा जोड दिदै आएको छ । अस्पतालमा सुदुरपश्चिमकै पहिलो न्यूरो सेन्टर संचालनमा रहेको पन्त वताउछन् । त्यस्तै ,१५ शय्याको आईसीयू र १० शय्या को एनआईसीयू सेवा पनि संचालनमा छन् । जटिल प्रकृतिका बिरामीको उपचार तथा शल्यक्रियाका लागि आवश्यक विशेषज्ञ चिकित्सक र स्वास्थ्य जनशक्ति अस्पतालमा रहेको उनको भनाई छ । अस्पतालमा एमबीबीएस तथा एमडी,डीएम तहका करिब ४० जना चिकित्सक र झण्डै ४०० जना स्वास्थ्यकर्मी कार्यरत छन् । हामीले कमाउनु भन्दा पनि सुदुरपश्चिमका बिरामीले आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार पाउन् र उपचारका नाममा बाहिरिने रकम यही परिचालन होस् स्थानीय अर्थतन्त्र चलायमान बनोस् भन्ने उदेश्यले अस्पताल स्थापनाको मुख्य आधार रहेको उनी बताउछन् ।
हामीले नाफा कमाउनेभन्दा पनि यस क्षेत्रका बिरामीलाई सेवा दिने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य राखेका छौ । यहाँको अर्थतन्त्र यही चलायमान हुनुपर्छ पन्त भन्छन् ।
निजी क्षेत्रलाइ लगानीमैत्री वातावरण आवश्यक
स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रको भुमिका महत्वपूर्ण भए पनि सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने पन्तको धारणा छ ।
निजी क्षेत्रका उद्योगी तथा व्यवसायीलाई प्रोत्साहन गर्नुको सट्टा अनावश्यक रुपमा निरुत्साहित गर्ने प्रवृतिले लगानीको वातावरण कमजोर बनाउने उनको बुझाइ छ ।
निजी क्षेत्रसंग सहकार्य गरेर नीति निर्माण गर्नै र लगानीमैत्री वातावरण सिर्जना गर्ने हो भने स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि उल्लेखनीय सुधार सम्भव हुने उनी बताउछन् । देशको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका हुन्छ । निजी क्षेत्रसंग बसेर छलफल गर्ने, उनीहरुको समस्या बुझ्ने र सहकार्यका आधारमा नीति निर्माण गरेर अघि बढ्न आवश्यक छ उनी भन्छन् ।
सुदुरपश्चिम स्वास्थ्य विज्ञान विश्वविद्यालयप्रति आशा
सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रको दीर्घकालीन विकासका लागि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको संचालनका लागी पनि उनले महत्वपूर्ण रुपमा लिएका छन् । विश्वविद्यालय छिटो संचालन आउनुपर्ने पक्षमा आफूहरु पनि निरन्तर लागिरहेको पन्त बताउछन् । उनका अनुसार विश्वविद्यालय संचालनमा आएपछि यस क्षेत्रका विद्यार्थीले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउनेछन् भने दक्ष जनशक्ति उत्पादनमा समेत सहयोग पुग्ने छ । अहिले पनि क्यान्सर,कलेजो प्रत्यारोपण र मिर्गौला प्रत्यारोपण जस्ता जटिल उपचारका लागि सुदुरपशिचमका नागरिक बाहिर जानुपर्ने बाध्यता छ ।
विश्वविद्यालय संचालनमा आएपछि यस्ता उपचार सेवा क्रमशः आफ्नै क्षेत्रमा विस्तार गर्न आधार तयार हुने उनको अपेक्षा छ । विश्वविद्यालयबाट उत्पादन हुने दक्ष जनशक्तिले निजी तथा सरकारी स्वास्थ्य संस्थामा काम गर्ने अवसर पाउने र समग्र स्वास्थ्य प्रणाली बलियो बन्ने उनको विश्वास छ ।
व्यक्तीगत सफलताभन्दा समग्र स्वास्थ्य क्षेत्रको सफलता महत्वपूर्ण
पन्त सुदुरपश्चिम प्राइभेट अस्पताल एसोसिएसनका अध्यक्ष समेत हुन् । त्यसैले उनी निसर्ग अस्पतालको व्यक्तिगत सफलताभन्दा पनि सुदुरपशिचमको समग्र स्वास्थ्य क्षेत्रको विकासलाइ प्राथमिकता दिनुपर्ने बताउछन् ।
निसर्ग अस्पतालले आर्थिक अवस्था कमजोर भएका बिरामीलाइ उपचारमा छुट दिदै आएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक अभियानमा समेत अस्पतालले सहभागिता जनाउदै आएको उनको भनाइ छ ।
लागुऔषध दुव्र्यसन नियन्त्रण युवालाई स्वस्थ र सिर्जनशिल बनाउन खेलकुद क्षेत्रमा सहयोग,ग्रामीण क्षेत्रमा विशेषज्ञ चिकित्सकसहित निःशुल्क स्वास्थ्य शिविर संचालनजस्ता गतिविधि अस्पतालले गर्दै आएको छ ।
त्यसैगरी समाजमा विभिन्न जातजाति,भाषा,धर्म र संस्कृतिबीच एकता कायम राख्न कला,संस्कृति तथा परम्पराको संरक्षण प्रबर्धनमा समेत सहयोग गर्दै आएको उनी बताउछन् । अस्पतालले स्वास्थ्य सेवालाई सहरमा मात्रै सीमित नराखी ग्रामीण क्षेत्रका नागरिकसम्म पुर्याउने प्रयास गरिरहेको उनको भनाइ छ ।
स्थानीय अर्थतन्त्र र स्वास्थ्य सेवाको विकाससंग जोडिएको अभियान
निसर्ग अस्पतालले स्वास्थ्य सेवासंगै स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याउँदै आएको छ । अस्पतालले कैलाली जिल्लामा उल्लेखनीय कर योगदान गरेको भन्दै आन्तरिक राजश्व कार्यालयबाट पुरस्कृत भइसकेको पन्त बताउछन् ।
आधुनिक प्रविधि,दक्ष चिकित्सक,गुणस्तरीय उपचार र फरक सेवा प्रणाली मार्फत सुदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने उदेश्यले निसर्ग अस्पतालको स्थापना गरिएको उनको भनाइ छ । सुदुरपश्चिम हाम्रो हो, हामीले नै बनाउनुपर्छ अरुले आएर बनाईदिने होइन पन्तको स्पष्ट धारणा छ ।



























