धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१५ ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बिहीबार धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा दुवै सवारीसाधनमा सवार पाँच जना घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको थियो ।
घाइतेमध्ये स्कुटर चालक धनगढी उपमहानगरपालिका-५ तारानगरकी ३५ वर्षीया सुशीला बमलाई थप उपचारका लागि शुक्रबार मायामेट्रो अस्पताल लगिएको थियो । प्रहरीका अनुसार उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
मृतकको शव मायामेट्रो अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।



























