धनगढी । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले समुदायमा विद्युत सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्युत सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
वितरण केन्द्रका अनुसार भदौ २२ गतेदेखि २६ गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रममा सहभागी हुन इच्छुक विद्यालय तथा स्थानीय निकायलाई धनगढी वितरण केन्द्रको कार्यालयमा सम्पर्क गरी कार्यक्रम तय गर्न आग्रह गरिएको छ ।
कार्यक्रममा विद्युत प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, घर तथा विद्यालयमा विद्युत सुरक्षा र विद्युत दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिइनेछ । साथै, प्रश्नोत्तर तथा अन्तरक्रियामार्फत विद्युत सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गरिने वितरण केन्द्रले जनाएको छ ।
धनगढी वितरण केन्द्रले विद्युत सुरक्षालाई सबैको सरोकारको विषय भन्दै सुरक्षित रूपमा विद्युत उपकरण प्रयोग गर्न तथा सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।






















