धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले अपराध अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरी विश्वकै अनुकरणीय उदाहरण बन्न पुगेको बताएका छन् ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सीमित स्रोतसाधन र कमजोर पूर्वाधारका बाबजुद प्रहरीले उदाहरणीय कार्य गर्दै आएको बताए ।
उनले नेपाल प्रहरीलाई राजनीतिक हस्तक्षेपमुक्त वातावरण, पर्याप्त स्रोतसाधन र सबै प्रकारका हस्तक्षेपबाट मुक्त भएर काम गर्ने अवसर प्राप्त भए विश्वकै शक्तिशाली प्रहरी संगठन बन्न सक्ने विश्वास व्यक्त गरे ।
कानुनको शासन स्थापित गर्न प्रहरीलाई स्वतन्त्र र सक्षम ढंगले काम गर्ने वातावरण आवश्यक रहेको उनको भनाइ थियो ।
प्रहरी संगठनको जिम्मेवारी शान्ति सुरक्षा, न्याय र नागरिकको जीवन रक्षा गर्नेमा मात्र सीमित नरहेको बताउँदै मुख्यमन्त्र भट्टले हरेक प्रकारका विपद्का बेला नागरिकको उद्धार तथा राहत व्यवस्थापनमा पनि प्रहरीले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे ।
उनले पछिल्लो समय नेपाल प्रहरीको संगठनात्मक क्षमता, कार्यशैली र सेवाप्रवाहमा सुधार हुँदै गएको बताउँदै प्रहरी संगठन थप वैज्ञानिक, आधुनिक, सभ्य र जनमुखी बन्दै गएको धारणा व्यक्त गरे ।






















