काठमाडौँ । रसुवा बाढीमा ज्यान गुमाएकाहरूमध्ये हालसम्म ५ सय ५३ जनाको शव फेला परेको छ।
नेपाल प्रहरीका अनुसार गएरातिसम्म चितवनमा २२२ जना, नवलपरासी पूर्वमा १३४ जना, गोरखामा ४७ जना, धादिङमा ४० जना, नुवाकोटमा ३८ जना, तनहुँमा ३१ जना, नवलपरासी पश्चिममा २८ जना र रसुवामा १३ जनाको शव फेला परेको छ।
बाढीका कारण हालसम्म २७ जना प्रहरी कर्मचारीहरू सम्पर्कविहीन रहेका छन्, जसमध्ये १ जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
बाढी तथा विपद्मा परेका १४७३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमध्ये रसुवाबाट ५७२ जना, नुवाकोटबाट ८९८ जना र धादिङबाट ३ जना रहेका छन् । यसैगरी काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या ९७ पुगेको छ।






















