धनगढी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कैलाली क्षेत्र नं. ४ बाट गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला पुरुष) पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय बमले पार्टीको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन् । उनले नेपाल विद्यार्थी संघ कैलाली जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थिए । त्यसपछि नेपाल तरुण दल जिल्ला सदस्य, कांग्रेस क्षेत्रीय सदस्य, जिल्ला पार्टी सदस्य तथा महाधिवेशन प्रतिनिधिसहितका जिम्मेवारी निर्वाह गरेका छन् ।
राजनीतिसँगै सामाजिक तथा सहकारी क्षेत्रमा समेत सक्रिय बम राष्ट्रिय सहकारी महासंघमा तीन कार्यकाल नेतृत्वमा रहेर काम गरेको बताइएको छ ।
हाल नेपाली कांग्रेसबाट निर्वाचित गौरीगंगा नगरपालिकाका उपप्रमुख रहेका बमले विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय हुँदै आएको बताएका छन् ।
उम्मेदवारी घोषणा गर्दै बमले विद्यार्थी जीवनदेखि पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको र अब महाधिवेशनमार्फत कैलाली–४ को आवाज केन्द्रसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन् ।
उनले सभापति गगन थापाको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन आफ्नो भूमिका रहने उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सहयोगको अपेक्षा गरेका छन् ।
बमलाई सभापति गगन थापा निकट नेताका रूपमा लिइन्छ। उनको उम्मेदवारी घोषणासँगै कैलाली क्षेत्र नं. ४ मा कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनलाई लिएर राजनीतिक चहलपहल बढेको छ ।
















