धनगढी । नेपाली कांग्रेस संस्थापन इतर पक्षले १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ का ११ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ ।
बिहीबार धनगढी उपमहानगरपालिकाका ९ र कैलारी गाउँपालिकाका २ वडामा निर्वाचनमार्फत वडा समिति चयन गरिएको हो।
जिल्ला निर्वाचन अधिकृत नरेन्द्रबहादुर सिंहका अनुसार क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ८, १४, १५ र १९ तथा कैलारी गाउँपालिकाको वडा नम्बर ६ र ९ मा अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनबाट विभिन्न वडामा सभापतिसहितका वडा समिति निर्वाचित भएका छन् । धनगढी–१ मा दानसिंह धामी, वडा नम्बर २ मा रत्नाकुमारी बोगटी (विष्ट), वडा नम्बर ३ मा मैना बोगटी, वडा नम्बर ४ मा गौरव पाण्डेय, वडा नम्बर ५ मा मिनराज जोशी, वडा नम्बर ८ मा चेतराम राना, वडा नम्बर १४ मा विष्णु अधिकारी, वडा नम्बर १५ मा रतनलाल राना र वडा नम्बर १९ मा डबलबहादुर रोकाया सभापतिमा निर्वाचित भएका छन् ।
त्यस्तै, कैलारी गाउँपालिका–६ मा राजाराम डगौरा थारु महतो र वडा नम्बर ९ मा रामकुमार चौधरी सभापतिमा निर्वाचित भएको जिल्ला निर्वाचन अधिकृत सिंहले जानकारी दिए ।
सिंहका अनुसार निर्वाचन तोकिएको कार्यतालिकाअनुसार शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको हो । क्षेत्र नम्बर ५ अन्तर्गत २१ वडामध्ये बाँकी वडामा पनि निर्धारित कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइने जनाइएको छ।
वडा अधिवेशनमा नेपाली कांग्रेस इतर पक्षका केन्द्रीय सदस्य नृपबहादुर वड, राष्ट्रिय सभा सदस्य तथा कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्ट, जिल्ला सहसचिव राजसमझ राना, सुदूरपश्चिम प्रदेशसभा सदस्य डम्बरी महरा (रक्षा), धनगढी नगर सभापति यज्ञराज उपाध्याय, नगर सचिव दिनेश खत्री लगायतका नेताहरूको उपस्थिति रहेको थियो।













