धनगढी । कैलालीकाे धनगढी उपमहानगरपालिकामा सञ्चालन भइरहेको जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियान अन्तर्गत ६१ हजार ७४६ जनाले खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय कैलालीको असोज १७ गतेको दैनिक प्रतिवेदनअनुसार आज मात्रै धनगढी उपमहानगरपालिकामा १ हजार १३२ पुरुष र १ हजार २८९ जना महिलाले जेई खोप लगाएका छन्। हाल सम्म धनगढी उपमहानगरपालिकामा २४ हजार १४५ जना पुरुष र ३७ हजार ६०१ जना महिलाले खोप लगाइसकेको स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्सन सूर्यबहादुर बिष्टले निशाना न्युजलाई जानकारी दिए।

उनले हालसम्म जिल्लाका तीनवटा पालिकामा १ लाख १८ हजार ४३१ जनाले खोप लगाएको बताए । हालसम्म घोडाघोडी नगरपालिकामा २९,१७५ लम्कीचुहा नगरपालिकामा २७,५९० र धनगढी उपमहानगरपालिकामा ६१,७४६ जनाले जेई खोप लगाएको उनले बताए ।
जिल्लाको कुल लक्षित जनसंख्या १ लाख ७६ हजार ३४४ रहेकोमा हालसम्म ६७.१६ प्रतिशतले खोप लगाइसकेकाे उनले बताए ।
उनले स्थानीय तहअनुसार हालसम्मको खोप कभरेज घोडाघोडी नगरपालिकामा ८७.१२ प्रतिशत, लम्कीचुहा नगरपालिकामा ६९.२३ प्रतिशत र धनगढी उपमहानगरपालिकामा ५९.८८ प्रतिशत रहेको बताए ।
कैलालीमा जेई संक्रमणको जोखिमलाई ध्यानमा राखी ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो।













