धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराको माझथानामा आज भएको बस दुर्घटनामा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत दुर्घटनामा पाँच जनाको दुःखद निधनको खबरले आफू मर्माहत भएको बताएका हुन ।
उनले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
संयोजक प्रचण्डले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र र प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
त्यसैगरी, दुर्घटनाको निष्पक्ष छानबिन गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन र सुरक्षित यात्राको वातावरण सुनिश्चित गर्न पनि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
आज विहान ग.२ ख. १४१७ नम्बरको स्कुल बस सडकबाट करिब २०० मिटर तल खस्दा दुर्घटना भएको थियो । दुर्घटनामा ४ विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको र १४ जना घाइते भएका छ्न ।















