धनगढी । दसैँ नजिकिएसँगै सुदूरपश्चिमका सीमानाकामा स्वदेश फर्किने नेपालीको चहलपहल बढेको छ । वर्षभरि भारतका विभिन्न सहरमा श्रम गरेर कमाएको पैसा र परिवारसँग खुसी साट्ने रहर बोकेर हजारौँ नेपाली कैलालीको त्रिनगर–गौरीफन्टा नाका हुँदै घर फर्किरहेका छन् ।
परदेशको कडा परिश्रम र परिवारबाट टाढा रहँदाको पीडा बिर्सेर उनीहरू आफ्ना गाउँघरतर्फ लागिरहेका छन् । लामो समयपछि परिवार, आफन्त र साथीभाइसँग भेटघाट गर्दै आफ्नै आँगनमा दसैँ मनाउन पाउने खुसी उनीहरूको अनुहारमा झल्किन्छ ।
डडेल्धुराका वीरबहादुर कामी दुई वर्षको परदेश बसाइपछि स्वदेश फर्किएका छन् । गौरीफन्टा नाकामा भेटिएका उनले लामो समयपछि घर फर्किन पाउँदा निकै उत्साहित भएको बताए ।
‘दुई वर्षपछि घर फर्किँदै छु, एकदमै उत्साह लागेको छ। घर गएर परिवार तथा साथीभाइसँग भेटघाट गर्ने र रमाइलो गरी दसैँ मनाउने योजना छ,’ उनले भने । उनका अनुसार चाडपर्वमा आफ्नै घर पुग्न पाउँदा परदेशमा भोगेका दुःखकष्टसमेत बिर्सिने अनुभव हुन्छ ।
गौरीफन्टा नाकामा भेटिने हरेकका आ–आफ्नै कथा र योजना छन् । कोही दसैँ मनाउन मात्र नभई खेतीपातीको काममा सघाउन र परिवारको भविष्य सुधार्ने उद्देश्यसहित घर फर्किएका छन् ।
भारतबाट फर्किएकी डोटीकी कौशिला बिक यसपटक दसैँ मनाउनुका साथै कमाएको पैसाले घर बनाउने र खेतीपातीको काममा जुट्ने योजनामा छिन् । ‘घर फर्किन पाउँदा धेरै खुसी लागेको छ। कामको चटारो भए पनि कामसँगै दसैँ मनाउँछौँ,’ उनले भनिन् ।
अहिले गाउँघरमा धान भित्र्याउने, खर काट्ने र अन्य घरायसी कामको चटारो बढेको छ । यस्तो बेला परदेशबाट फर्किनेहरूका लागि दसैँ परिवारसँग भेटघाट गर्ने अवसर मात्र नभई खेतीपाती र घरायसी काममा सघाउने समय पनि बनेको छ ।
विद्यालय बिदा भएपछि आमाबुवासँगै भारत गएका बालबालिका पनि गाउँ फर्किने क्रम बढेको छ । लामो समयपछि गाउँघर पुग्न पाउँदा उनीहरूमा समेत चाडपर्वको उत्साह देखिन्छ ।
दसैँ नजिकिएसँगै गौरीफन्टा नाकामा सीमापारिबाट नेपाल प्रवेश गर्ने नेपालीको ताँती लागेको छ । रोजगारीका लागि परदेशमा बिताएको समय र गरेको मेहनतपछि आफ्नै घरपरिवारसँग दसैँ मनाउने चाहनाले उनीहरूलाई घरसम्म डो¥याएको छ ।
परदेशमा कमाएको पैसा, मनभरि परिवारसँग भेट्ने रहर र चाडपर्वको उमंग बोकेर स्वदेश फर्किने नेपालीका लागि दसैँ केवल पर्व मात्र होइन, परिवारसँग पुनर्मिलन हुने खुसीको अवसर पनि बनेको छ ।



















