धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको चालु आव २०८३/८४ को बजेटमाथि संसदीय छानबिन हुने भएको छ ।
मंगलबार प्रदेशसभाबाट पारित बजेटमा देखिएका भनिएका बेथितिबारे अध्ययन गर्न संसदीय समिति गठन हुने भएको हो।
मंगलबारको प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले बजेटको अध्ययनका लागि दलीय प्रतिनिधित्वका आधारमा ७ सदस्यीय संसदीय समिति गठन गरिने बताए ।
उनका अनुसार संसदीय समितिको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइने छ ।
‘प्रदेशसभामा प्रस्तुत भएको बजेटका सन्दर्भमा अध्ययन गरी कार्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने गरी दलीय प्रतिनिधित्वका आधारमा ७ सदस्यीय संसदीय समिति गठन गरिनेछ’ उनले भने ‘उक्त समितिले पेस गरेको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइनेछ ।’
बजेटमा देखिएका बेथिति छानबिन गर्ने सहमतिपछि मात्रै सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा सदस्यहरू बजेट पारित गर्न तयार भएका थिए ।
आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले आइतबार प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।
बजेट निर्माणमा बिचौलियाको प्रभाव तथा पहुँचका आधारमा योजना छनोट गरिएको भन्दै बजेटमा विवाद चर्किएको थियो ।



















