धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट बजेट पारित भए पनि सत्तारूढ नेकपा एमालेभित्रको असन्तुष्टि चुलिएको छ । बजेट पारित गर्ने क्रममा एमालेका दुई सांसद अनुपस्थित भएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो ।
पूर्वमन्त्री तथा प्रत्यक्ष निर्वाचित सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन् ।
स्रोतका अनुसार सांसद थापाले बजेटमाथिको छलफलका क्रममा प्रदेशसभामा आफ्नो धारणा राख्न पाउनुपर्ने माग संसदीय दलका नेता राजेन्द्रसिंह रावलसमक्ष राखेका थिए । तर, दलका नेता रावलले बोल्न नदिएपछि उनी थप असन्तुष्ट बनेको बताइएको छ । थापा बजेटप्रति निकै रुष्ट रहेको स्रोतको भनाइ छ ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद थापाले टेलिफोन उठाएनन् । सभामुख भीमबहादुर भण्डारीले पनि यस विषयमा बोल्न नचाहेको बताएका छन् ।
यता, अर्का सांसद पाठक पनि बजेट निर्माण तथा पारित गर्ने प्रक्रियाप्रति सुरुदेखि नै असन्तुष्ट रहँदै आएका थिए । उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै आएका थिए । बजेटप्रतिको असन्तुष्टि संसदीय दलभित्र मात्र सीमित नरही प्रदेशसभामा बजेट पारित गर्ने प्रक्रियासम्म पुगेको घटनाक्रमले देखाएको छ ।
बजेट पारित भइसके पनि त्यससँग जोडिएको विवाद भने साम्य भएको छैन । बजेट निर्माण र पारित गर्ने प्रक्रियाबारे उठेका प्रश्न तथा असन्तुष्टिको अध्ययन गर्न सभामुख भीमबहादुर भण्डारीले संसदीय अध्ययन समिति गठन गरिएको घोषणा गरेका छन् । समितिलाई कात्तिक २० गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
बजेट पारित भएपछि पनि सत्तारूढ दलभित्र देखिएको असन्तुष्टिले सरकार र एमालेको संसदीय दलभित्रको आन्तरिक विवादलाई उजागर गरेको छ । बजेट निर्माण प्रक्रियामा सांसदहरूको सहभागिता र असन्तुष्टिका विषयमा उठेका प्रश्नको निरूपण अब अध्ययन समितिको प्रतिवेदन र एमालेको आगामी कदममा निर्भर हुनेछ ।



















