धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका १ लाख ६३ हजार ३०० रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।
कैलाली जिल्लाका विभिन्न स्थानबाट सोमबार प्रहरीले १ लाख २९ हजार ३०० रुपैयाँ बराबरका सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका प्रहरी टोलीले उक्त मूल्यका सुर्ती, सलाई, सुकेको मटर, डिजाइनिङ लेस, कपडामा प्रयोग हुने बुट्टा तथा बोयलर कुखुरालगायतका सामान बरामद गरेको हो ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-१७, बनगाउँबाट ३४ हजार रुपैयाँ बराबरका झ्याल र ढोकाका पर्दा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतको प्रहरी टोलीले सोमबार दिउँसो ती सामान बेवारिसे अवस्थामा फेला पारेको हो।
प्रहरीले दुवै जिल्लाबाट बरामद गरिएका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।























