लम्की । हुनेखानेहरूका लागि दशैं खुसी र उल्लासको पर्व बनेर आउने गरे पनि घरबारविहीन तथा असहाय व्यक्तिहरूका लागि भने चाडपर्व पीडा र अभावको समय बन्ने गरेको छ। यस्तै अवस्थामा रहेका असहायहरूलाई लक्षित गर्दै कैलालीको लम्कीचुहा नगरपालिका–१, पूर्व लम्कीस्थित मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई खाद्यान्न तथा दक्षिणा वितरण गरिएको छ।
वरिष्ठ पत्रकार एवं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा मोहन्याल इन्चार्ज वीरेन्द्रबहादुर रावलले आश्रममा आश्रित असहाय व्यक्तिहरूलाई मासु, भुजा, चिउरा तथा दक्षिणा वितरण गर्नुभएको हो।
चाडपर्वका बेला असहाय तथा घरबारविहीन व्यक्तिहरूलाई पनि खुसी बाँड्ने र उनीहरूलाई अपनत्वको अनुभूति गराउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको हो।
चाडपर्वको खुसी सबैसँग बाँड्न सके मात्रै पर्वको वास्तविक महत्त्व झल्किने भएकाले समाजका असहाय तथा विपन्न व्यक्तिहरूप्रति सहयोग, सद्भाव र मानवीय भावना राख्नु आवश्यक छ।























