धनगढी । कञ्चनपुरमा अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका-११ स्थित ब्यारल चेकपोस्टमा आइतबार दिउँसो भारतबाट नेपाल आउँदै गरेका कैलालीको घोडाघोडी नगरपालिका-६ का करिब २५ वर्षीय विक्रम मिजारलाई प्रहरीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनको साथबाट शुद्ध तौल ०.१६ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेको थियो ।
त्यसैगरी, भीमदत्त नगरपालिका-९ स्थित जिरो प्वाइन्टमा आइतबार साँझ सडकमा हिँडिरहेका एक किशोरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ब्रह्मदेवबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनको साथबाट शुद्ध तौल १२ ग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको हो ।
दुवै जनालाई बरामद लागूऔषधसहित नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।























