धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सुदूरपश्चिम खेलकुदका दृष्टिले अपार सम्भावनाको भूमि भएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषदद्वारा शनिबार धनगढीमा आयोजित १ं०औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेशस्तरीय खेलाडी छनोट प्रतियोगिता–२०८३ को उद्घाटन कार्यक्रममा बोल्दै उनले यस प्रदेशका हिमाल,पहाड र तराईँका बस्तीहरुमा युगौँयुग सम्झिने खेलकुद प्रतिभा रहेका बताए ।
मुख्यमन्त्री भट्टले यस प्रदेशले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो क्षमता,प्रतिभा र आफ्नो कार्य सम्पादन गर्न सक्ने अत्यन्त उत्कृष्ट एवं प्रेरणादायी खेलाडीहरु उत्पादन गर्दै आएको बताए ।
उनले भने ‘यहाका प्रतिभालाई उचित अवसर,प्रशिक्षण,प्रोत्साहन र रोजगारी प्रदान गर्न सके यो प्रदेशले राष्ट्रिय खेलकुद क्षेत्रमा अझ महत्वपूर्ण,निर्णायक र गौरवशाली योगदान दिन सक्छ भन्न प्रदेश सरकारको विश्वास रहेको छ ।’
मुख्यमन्त्री भट्टले प्रदेश सरकार खेलकुद क्षेत्रको विकासका लागि सधै प्रतिवद्ध रहेको समेत स्पष्ट पारे ।
त्यस्तै,उनले खेलकुद मनोरञ्जन र प्रतिष्पर्धाको बिषयमात्रै नभइ राष्ट्रको पहिचान, युवाशक्तिको क्षमता,कलाको प्रदर्शन गर्ने माध्यम पनि भएको बताए ।
खेलकुदलाई राष्ट्रिय गौरव,जनस्वास्थ्य युवा सशक्तिकरण,राष्ट्रिय गौरवलाई स्थापित गर्न एउटा असाधारण प्रकृयाको रुपमा ग्रहण गर्नु सबैका लागि जरुरी रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री सन्तोष शर्मा (थापा)ले खेलकुद केवल प्रतिष्पर्धामात्रै नभइ राष्ट्रिय एकताको सशक्त आधार भएको बताइन् । उनले यस प्रतियोगिताबाट क्षमतावान खेलाडी राष्ट्रिय स्तरको प्रतियोगितामा पुग्ने विश्वास व्यक्त गरिन ।
विभिन्न ३० विधाका लागि आज (शनिबार)देखि आगामी मंसिर १ गतेसम्म कैलाली,कञ्चनपुर र डडेल्धुरामा प्रदेशस्तरीय खेलाडी छनोट हुने आयोजकले जनाएको छ ।
आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा १०औं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ ।



























