धनगढी । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा एक महिनाको अवधिमा २९८ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ५१८ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार कार्तिक १ गतेदेखि २९ गतेसम्म भएका दुर्घटनामा १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ७९ जना गम्भीर र ४३९ जना सामान्य घाइते भएका छन् ।
यस अवधिमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ३ हजार ३९२ वटा सवारी साधनलाई कारबाही गरी २८ लाख ७४ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । ।
त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४३२ जना चालकलाई कारबाही गरी २ लाख ४१ हजार ५०० रुपैयाँ जरिवाना गरिएको उनले जानकारी दिए ।
यातायात व्यवस्था कार्यालय धनगढी र ट्राफिक प्रहरीको संयुक्त चेकजाँचका क्रममा सिट क्षमताभन्दा बढी यात्रु बोक्ने दुईवटा सवारी साधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको थियो । ती सवारी साधनबाट १० हजार रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक, सहचालक, यातायात व्यवसायी, यातायात प्रालिका प्रतिनिधि, पैदलयात्रु, विद्यार्थी लगायत सडक प्रयोगकर्तालाई लक्षित गरी ८४० पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कार्कीले जानकारी दिए । उक्त कार्यक्रमबाट १७ हजार ६१९ जना लाभान्वित भएको कार्यालयले जनाएको छ ।
यसैगरी, तीनपाङ्ग्रे सवारी साधनको अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न अटो व्यवसायीसँग छलफल गरी पार्किङ स्थल तोकिएको छ । यसका साथै स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने निर्णय गरिएको जनाइएको छ ।
कार्तिक महिनामा सार्वजनिक यात्रुवाहक सवारी साधनका चालकहरूको दुई पटक लापसे परीक्षण गर्दा तीन जनामा लापसे पोजेटिभ देखिएको थियो । उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय पठाउनुका साथै सवारी चालक अनुमतिपत्र निलम्बनका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयमा सिफारिस गरिएको जनाइएको छ ।



























