धनगढी। स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा तीनदिने ‘धनगढी खाना महोत्सव’ (फुड फेस्टिभल) आयोजना हुने भएको छ ।
धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा आगामी पुस १०, ११ र १२ गते धनगढीको जेन्जी मार्गमा महोत्सव सञ्चालन हुन लागेको हो । महोत्सव आयोजनाका लागि दुवै पक्षबीच बुधबार औपचारिक सम्झौता भइसकेको छ ।
सम्झौताअनुसार महोत्सव सम्पन्न गर्न उपमहानगरपालिकाले होटल व्यवसायी संघ कैलालीलाई १० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराउनेछ । महोत्सवको संयोजकमा केशव नेउपाने रहेका छन् ।
संयोजक नेउपानेले सुदूरपश्चिमको मौलिक खानपानको संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन, संस्कृति तथा पर्यटन विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउनु महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।
होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशवराज पाण्डेले उपमहानगरपालिकासँगको सहकार्यमा पहिलोपटक तीनदिने खाना महोत्सव आयोजना गर्न लागिएको बताए । उनले आगामी दिनमा वार्षिक क्यालेन्डर बनाएर महोत्सवलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए ।
स्थानीय परिकारको प्रवर्द्धनसँगै होटल तथा पर्यटन व्यवसायलाई चलायमान बनाउने लक्ष्य राखिएको महोत्सवको व्यवस्थापनमा उपमहानगरपालिकाले आवश्यक समन्वय, सहजीकरण र अनुगमन गर्नेछ ।



























