काठमाडौं- भारतीय ब्याट्सम्यान ऋतुराज गायकवाडले नयाँ विश्वकीर्तिमान रचेका छन् । विजय हजारे ट्रफीमा महाराष्ट्रका लागि खेलिरहेका गायकवाडले उत्तर प्रदेशविरुद्धको खेलमा एक ओभरमा सात छक्का प्रहार गरेका हुन् । सीमित ओभरको क्रिकेटमा यो उपलब्धि हासिल गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका छन् ।
गायकवाडले महाराष्ट्रको इनिङ्सको ४९ औं ओभरमा यो उपलब्धि हासिल गरेका हुन् । शिव सिंहको ओभरमा एक नो बल थियो । यसरी यो ओभर सात बलको भयो । र, गायकवाडले सबै सात बलमा छक्का प्रहार गरे । यसै ओभरमा उनले कुल ४३ रन जोडे ।
प्रतियोगिताअन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा उत्तर प्रदेशविरुद्ध टस हारेर ब्याटिङ गर्ने मौका पाएको महाराष्ट्रले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३० रन बनाएको छ ।
महाराष्ट्रका लागि कप्तान गायकवाडले दोहोरो शतकीय पारी खेले । उनले १ सय ५९ बलमा १० चौका र १६ छक्काको सहयोगमा नटआउट २ सय २० रन बनाए । त्यस्तै, अंकित बावने–अजिम काजीले ३७÷३७ र सत्यजित बच्छावले ११ रनको योगदान दिए । उत्तर प्रदेशका लागि बलिङमा कार्तिक त्यागीले सर्वाधिक तीन, शिवम शर्मा र अंकित राजपूतले एक/एक विकेट हात पारे ।













