काठमाडौँ – फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लिलेलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा पिएसजीले लिलेलाई ४–३ गोलले पराजित गरेको हो ।
पिएसजीको जितमा लियोनेल मेसीले खेलको ९५औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित दिलाएका थिए । मेसीले डीबक्स बाहिरबाट फ्रीकिकमार्फत सुन्दर गोल गरेका थिए ।
यसअघि किलियन एम्बाप्पेले खेलको ८७औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । यस खेलमा एम्बाप्पेले दुई गोल गरेका थिए । उनले खेलको ११औं मिनेटमा नेइमारको असिस्टमा गोल गरेका थिए । त्यस्तै पिएसजीका लागि अर्को गोल नेइमारले गरेका थिए ।
त्यसैगरी लिलेका लागि बाफोड डियाकाइट, जोनाथन डेभिड र जोनाथन बाम्बाले एक एक गोल गरेका थिए । यस खेलमा पिएसजीका दुई खेलाडी नेइमार र नुनो मेन्डेज घाइते भएका छन् । नेइमार खेलको ५१औं मिनेटमा र नुनो खेलको ३१औं मिनेटमा घाइते भएपछि मैदान छोडेका थिए ।
यो जितपछि पिएसजीको २४ खेलमा ५७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै लिलेको २४ खेलमा ४१ अंक छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।














