काठमाडौँ – यूईएमा जारी यू १९ विश्वकप क्रिकेट एसिया छनोटको पहिलो खेलमा नेपालले सिंगापुरमाथि फराकिलो जित हात पारेको छ । शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
ईडन ग्राडेन ओभल अजमानमा नेपालले पहिला ब्याटिङ गर्दै २ सय ६२ रनको बलियो लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सिंगापुरले ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।
सिंगापुरका लागि आर्यन मोदीले ५८ रनको योगदान दिए भने सिद्धान्त श्रीकान्तले ४४ रन बनाए । नेपालका हेमन्त धामी र सुवाश भण्डारीले २–२ र विशाल बिक्रम केसीले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । नेपालका लागि आकाश त्रिपाठीले ७८ रनको योगदान दिएका थिए । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवे त,हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता छ ।
दोस्रो खेलमा शनिबार नेपालले कुवेतसँग खेल्ने छ भने हङकङविरुद्ध सोमबार तेस्रो खेल खेल्नेछ । चौथो खेल मंगलबार मलेसियासँग खेल्नेछ भने नेपालले अन्तिम खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकपका लागि छनोट हुनेछ ।














