काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले विभागीय टिम एपिएफमाथि ३–० को सहज जित निकाल्दै अङ्क तालिका सुधार गरेको छ। सातदोबाटोको जितमा दीपकराज सिंह ठकुरीले दुई गोल गर्दा अर्को एक गोल विलयम ओपोकुको नाममा रह्यो।
दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा सातदोबाटो जितसँगै सातदोबाटो अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। सातदोबाटोको १७ खेलबाट ७ जित सहित २६ अङ्क बनाएको छ। त्यस्तै पराजित एपिएफ १७ खेलमा ६ जित र ७ हारसँगै २२ अंक जोडेर सातौं स्थानमा छ।
खेलमा १३ औं मिनेटमा सातदोबाटोले ओपोकुको गोलमार्फत अग्रता लिएको थियो।
उनले दिपक राज सिंह ठकुरीले दिएको क्रसलाई आकर्षक भलीमार्फत गोल गरेका थिए। ३६ औं मिनेटमा दिपकले सातदोबाटोको अग्रता दोब्बर पारे। पहिलो हाफमा २ गोलको अग्रता बनाएको सातदोबाटो विरुद्ध एपिएफले केही राम्रा गोलका मौका खेर फालेको थियो।
दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरेपनि एपिएफ सफल भएन। तर ७७ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै टिमको फराकिलो जित पक्का गरेका थिए।














