धनगढी- कैलालीको चुरे गाउँपालिका –४ बालुवागडामा रहेको सूर्यमुखि आधारभूत विद्यालयमा दरखास्त आब्हान गरेको सात महिनासम्म परिक्षा हुन सकेको छैन् । चुरे गाउँपालिकाको अनुदान बालविकास कोटाका लागि गत चैत्र महिनामा विद्यालयले दरखास्त आब्हान गरेको थियो । बालविकास कोटाका लागि सो विद्यालयमा कार्यरत दीपा लामा, पुष्पा बूढामगर र मनिषा घर्तीमगर गरी तीन जनाको निवेदन परेको जनाइएको छ ।
विद्यालयमा प्राधानाध्यापक योगेन्द्र देउवाको निहित स्वार्थपूर्तिका कारण दरखास्त आब्हान गरेको सात महिनासम्म परिक्षा हुन नदिएको स्थानीय अभिभावकले गुनासो गरे । व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर मगरले गएको भदौं ११ गतेको बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरिएपनि प्रधानाध्यापक देउवाले आलटाल गर्दै आएको आरोप लगाए ।
व्यवस्थापन समितिले गरेको निर्णय कार्यान्वयन नभएपछि असोज ५ गते आयोजना गरिएको आमभेलामा समितिका अध्यक्ष भक्तबहादुर मगरले अपमानित महशुस गरी राजिनामा दिएको चुरे ४ का वडाध्यक्ष चन्द्र लामिछाने मगरले बताए ।
प्रधानाध्यापक देउवाले जनप्रतिनिधि, व्यवस्थापन समिति र अभिभावको बेवास्ता गरी आफूखुशी काम गर्दै आएको स्थानीय अभिभावकको भनाइ छ ।स्थानीय अभिभावकका अनुसार गत बैशाखमा विद्यार्थी परिचयपत्र बनाउने भन्दै १५० रुपियाँ प्रति विद्यार्थी उठाएको तर छ महिनासम्म पनि परिचयपत्र वितरण गरेका छैनन् ।
सो विद्यालयका प्रधानाध्यापक देउवाले आफूमाथि लगाएका आरोप निराधार भएको बताए । उनले आफूमाथि राजनीतिक प्रतिशोध साध्ने काम भएको गुनासो गरे । गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले प्रधानाध्यापक देउवाका बारे धेरै जनगुनासो आएकोले सरुवा गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।














