धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशको असोज २१ र २२ गते हुन गइरहेको प्रथम अधिवेशनका लागि युवा नेता बचनबहादुर सिंहले प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
एमाले विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका सिंह बिहीबार धनगढीमा पत्रकारसम्मेलन गर्दै प्रदेश अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पहिलो पटक हुन लागेको अधिवेशनमा युवा नेता सिंहले प्रदेश अध्यक्ष पदका लागि आफू सक्षम रहेको बताए । प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका सिंहले सुदूरपश्चिममा एमालेलाई बलियो पार्टी बनाउने आफ्नो योजना रहेको बताए ।
एमालेलाई सांगठनिक, वैचारिक र चुनावी मोर्चामा बलियो बनाउन प्रदेश अध्यक्षको लागि आफ्नो सशक्त दाबी रहेको बताउँदै उनले भने,‘२०८४ को मिसन र पार्टी बलियो बनाउने मेरो योजना छ ।’
सुदूरपश्चिम प्रदेशमा युवाको काँधमा जिम्मेवारी आउने विश्वास व्यक्त गरे । राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रिय अध्यक्षसमेत भइसकेका सिंहले अग्रज नेतृत्वलाई पनि प्रदेश अध्यक्ष पदमा सघाउन आग्रह गरे ।
एमाले प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी र अछामकै अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले अध्यक्षमा आकांक्षा राखेका छन् । तर तिमिल्सेना र जैशीले आधिकारिक उम्मेदवारी भने घोषणा गरेका छैनन् ।













