कैलाली- कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टको गाडी दुर्घटना भएको छ। गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टले चढ्ने बा १६ च ८७८८ नम्बरको गाडी दुर्घटना भएको हो।
गोदावरी नगरपालिकास्थित खमौरामा गाडी दुर्घटना भएको उनले बताए। चालक विक्रम चौधरीले गाडी सडक किनारको घरमा ठक्कर दिँदा दुर्घटना भएको हो। उनका अनुसार सडकमा छाडापशु चौपाया भएका कारण गाडी घरमा ठोक्किएको बताएका छन्। गाडीको अगाडीको भागमा क्षति पुगेको छ।
प्रमुख प्रशासकीय अधिकृत भट्टले गाडीमा आफू नभएको अवस्थामा बिहीबार राति दुर्घटना भएको बताए। सडकमा गाई भएकाले घरमा ठोक्किएको हो। घरको भित्ता समेत भत्किएको छ। तर, स्थानीयले चालकले मादक पदार्थ सेवन गरेको बताएका छन् । उक्त निजी गाडी चालककी श्रीमती बिरामी भएकाले गाडी नगरपालिकाका चालकले बिहीबार चलाएका थिए।
चौधरीको घरसमेत खमौरा हो। उक्त निजी गाडीलाई नगरपालिकाले दैनिक तीन हजार भाडा दिने गरी प्रयोगमा ल्याउँदै आएको थियो। मासिक ९० हजार प्रमुख प्रशासकीय अधिकृत सवार गाडीमा नगरपालिकाको खर्च हुँदै आएको छ। एक वर्षमा १० लाख ८० हजार खर्च हुँदै आएको उक्त गाडी दुई वर्षदेखि नगरपालिकाले भाडामा लिएको जनाइएको छ।
















