महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको छ । पूर्व पश्चिम राजमार्गसँगै जोडिएको कलुवापुर बजार सानो पानी पर्दा समेत डुबानमा पर्ने गरेको छ ।
बजारको उत्तरपट्टि रहेको कलुवापुर बजारसँगै जोडिएको सरस्वती माध्यमिक विद्यालय वरपर पर्खालमा समेत पानी जम्मा हुने गरेको छ । बजार क्षेत्रमा आउने यात्रु र उपभोक्ताले शौचालय प्रयोग गर्न नपाउँदा नजिकैको वन क्षेत्रमा जानुपर्ने बाध्यता सिर्जना भएको छ । बजार क्षेत्र नजिकमा रहेको छाप्रोमा पानी भरिएपछि व्यापारीहरूको सामानसमेत बिग्रिन थालेका छन् ।
सोही क्षेत्रका स्थानीय कर्ण थापाले सडक बनाउँदा ढलको उचित व्यवस्थापन हुनुपर्ने भए तापनि उक्त काम नभएको बताए । उनले भने, ‘विगतमा यस्तो डुबान नभएको यो बर्सातमा सडक निर्माण गर्दाबीच सडकमा होम पाइप हालेर काम गरिदिएको भए उक्त समस्याहरू आउने थिएन होला, स्थानीयदेखि जनप्रतिनिधिहरू, प्रमुख जिल्ला अधिकारीलगायत सबैलाई भन्दासमेत उक्त डुबानको समस्या समाधान भएन ।’
त्यसैगरी स्थानीय केशव पौडेलले सडक निर्माण गर्दा पूर्वाधार विकास कार्यालयले होमपाइप हालेर कार्य गरिदिएको भए अहिले उक्त समस्या नआउने बताए । स्थानीय समाजसेवी एवं सरस्वती माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक प्रकाश ऐरले २०२४ सालदेखि पुरानो बाटो रहेको र यही असारदेखि पूरै सडक बजार डुबानमा पर्न थालेको छ, उचित ढल निकास नबनाएको हुँदा अहिले पनि कलुवापुर बजार डुबानमा रहेको छ ।
बजार पछाडिबाट आउने पानीको निकास केही महिनाअगाडि बजारको पूर्वपट्टि खनेर पानी जाने नाला बनाए पनि स्थानीयले आफ्नो खेतमा पानी गएको भन्दै बन्द गरिदिएपछि फेरि बजारमा डुबान समस्या देखा परेको स्थानीय कमला पन्तले बताइन । उनले भनिन्, ‘बजारमा उचित ढल निकासको व्यवस्था नहुँदा उक्त समस्या देखिएको हो ।’ त्यसैगरी शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले सडक डिजायनको इस्मिेट नै गलत भएको बताए ।
उनले भने, ‘सडक निर्माण गर्दा दोहोरो नाली निर्माण गरेर मात्रै सडक निर्माण हुनुपर्ने भए तापनि पूर्वाधार विकास कार्यालयले त्यस्तो गरेन ।’ उनका अनुसार सडक निर्माण कम्पनी जेसिबीले नै सडकमा खाडल बनाएर होम पाइप हाल्ने भन्ने सहमति भएको भए तापनि उक्त काम नभएपछि डुबान भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर धीरेन्द्र भट्टले पुरानो ढल निकासको कल्भर्ट नराखिएपछि डुबान भएको बताए । उनले उक्त क्षेत्रमा जग्गा प्राप्तिमा समस्या भएपछि कल्भर्ट नराखिएको र जग्गा प्राप्ति भएमा आफूहरूले तुरुन्तै काम गर्ने बताए ।













